स्वास्थ्य

ज्येष्ठ नागरिकसँग मेयरः घरमै स्वास्थ्य सेवा पुर्याइने

परासी । ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । 

यस कार्यक्रमअन्तर्गत नगरका ६५ वर्षदेखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई आधारभूत तहको स्वास्थ्य सुविधा घरमै उपलब्ध गराइनेछ ।

परिवारका सदस्यको बढ्दो व्यस्त जीवनशैलीका कारण हेरचाहबाट बञ्चित एवं अर्थाभावका कारण उपचारबाट बञ्चित हुन पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै रामग्राम नगरपालिकाले यही फागुनदेखि ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालन गर्न लागेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । 

चौरासी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्ष्य गरी लुम्बिनी प्रदेश सरकारले यस किसिमको कार्यक्रम सञ्चालन गरिरहेकाले ६५ देखि ८४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई लक्ष्य गरी नगरपालिकाले यो कार्यक्रम सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ । 

रामग्राम नगरपालिकाभित्र एक हजार ४५७ पुरुष र एक हजार ३५० महिला गरी दुई हजार ८०७ जना ६५ देखि ८४ वर्षभित्रका ज्येष्ठ नागरिक रहेको तथ्याङ्क छ ।

लक्षित ज्येष्ठ नागरिकलाई महिनाको एकपटक स्वास्थ्यकर्मीले उनीहरुको घरमै पुगेर आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध गराउनेछ भने दीर्घरोगीलाई आवश्यक परामर्श तथा जटिल प्रकारको बिरामी भए सम्बन्धित अस्पतालमा सिफारिसका लागि सुझाव दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *