शिक्षा

धुलोमा बसेर पढ्छन् बालबालिका

बागलुङ । दिउँसो १ः०० बज्दानबज्दै जनचेतना आधारभूत विद्यालयका बालबालिका जाडोले कठ्याङ्रिन थाल्छन् । भुजीखोला छेउको धुलाम्मे चौरमा बसेर पढ्न विवश ती बालबालिका घाम ओझेलिएपछि घर फर्कन्छन् । 

बिहान १०ः०० बजेदेखि १ः०० बजेसम्म कक्षा चल्छ, खुला आकाशमुनि । चिसो भुइँ, धुलोको उस्तै कहर । घामै लाग्दा पनि भुजीखोलाको साँठले बेलाबेला हिर्काउँछ । बस्नलाई ओछ्याइएका बोरा र सामानका खोल पनि फाटेर धुजाधुजा छन् । यस्तो कठिन स्थितिमा कसरी पढ्दा हुन् ती कलिला बालबालिका ? 

ढोरपाटन नगरपालिका–९ सुप्राङस्थित उक्त विद्यालयमा पुग्दा जो कोहीको मनमा प्रश्न उब्जन्छ । ‘कक्षाकोठामा सिकाइमैत्री वातावरण’को आदर्श वाक्यले गिज्याइरहेको आभास मिल्छ ।

गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले विद्यालयको भवन बगाएपछि बालबालिकालाई खुला चौरमा राखेर पढाउन शिक्षक बाध्य छन् । ‘बाढीले नामोनिसान नराखी विद्यालय लग्यो, कुनै विकल्प नभएपछि खुला चौरमा राखेर पढाउनुपरेको हो’, विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्तीमगरले भने । 

उनले अहिले विद्यालयसँग कक्षाको समय जनाउका लागि घण्टीसमेत नभएको पीडा सुनाए । कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा अधिकांश दलित समुदाय र न्यून आय भएका परिवारका बालबालिका पढ्छन् । यसै त कमजोर हालतमा रहेका बालबालिकालाई प्राकृतिक विपत्तिले झन मार थपेको छ ।

चिसो झेल्न न्यानो कपडादेखि पाठ्यपुस्तकलगायत शैक्षिक सामग्रीको अभाव छ । भविष्यका कर्णधार बालबालिका पीडादायी स्थितिबाट गुज्रिरहेका छन् । स्तरीय र बालमैत्री सिकाइको अवसरबाट उनीहरु वञ्चित छन् । प्रअ घर्तीमगरका अनुसार अझै दुई÷तीन महिना ती बालबालिका कक्षाकोठामा फर्कन पाउने छैनन् ।

‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत दुई कोठे भवन बन्दैछ, त्यसैलाई बारबुर पारेर भए पनि कक्षा चलाउनुपर्ला’, उनले भने, ‘तत्काललाई अस्थायी प्रकृतिको टहरा बनाउने भनेर सोचेका थियौँ तर कतैबाट स्रोत जुटेन ।’  प्रअ घर्तीमगरले स्थलगत अवलोकनपछि विद्यार्थीको अवस्था देखेका त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घ र प्रदेशका सांसदले कुनै सहयोग नगरेकामा दुःखेसो व्यक्त गरे । 

नगरपालिकाले भने ३० थान बेञ्चका लागि बजेट दिएपछि अहिले काम भइरहेको विद्यालयले जनाएको छ । पुनःनिर्माण प्राधिकरणमार्फत बनिरहेको भवन वैशाखसम्म सक्ने लक्ष्य छ । सोही भवनमा तला थपका लागि अमेरिकामा रहेका प्रवासी नेपालीबाट रु २५ लाख बजेटसमेत नगरपालिकाको राहत कोषमा जम्मा भइसकेको जनाइएको छ ।

भवन बनाउने जग्गा खरिदका लागि पनि सोही ठाउँबाट वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका प्रवासीले रु ३० लाख विद्यालयलाई उपलब्ध गराएका थिए । शिक्षक जमुना पुनम मगरले चिसो भुइँमा राखेर बालबालिकालाई पठाउँदा साह्रै पीडाबोध हुने गरेको बताए । 

‘धेरै गाह्रो अवस्था छ, न बोर्ड छ, न शैक्षिक सामग्री, घाम हुञ्जेलसम्म जेनतेन पठाउँछौँ, त्यसपछि यहाँ बस्नै सकिँदैन, विद्यालय भवन छिटो बन्दियोस् भन्ने लागेको छ’, उनले भने, ‘पानी परी हालेमा विद्यार्थीले ओत लाउने ठाउँसम्म छैन ।’ 

कक्षा २ मा अध्ययनरत अङ्कित विकले दुवाल गाउँदेखि एक घण्टा हिँडेर विद्यालय आउने गरेको बताए । जाडो याममा धुलो भुइँमा बसेर पढ्दा गाह्रो भइरहेको सुनाए । उक्त विद्यालयमा बाढीमा अभिभावक गुमाएका नौ बालबालिका पढ्छन् । कूल १५० मध्ये अधिकांश बालबालिका बाढीबाट प्रभावित परिवारकै छन् ।

प्रअ घर्तीमगरलगायत अन्य शिक्षकको परिवार पनि बाढीबाट प्रभावित छन् । प्रअ घर्तीमगरले विद्यालयले भोगिरहेको समस्यामा सम्बद्ध पक्षबाट बेलैमा ध्यान पुग्नुपर्ने र उचित सम्बोधन हुनुपर्ने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *