पालिका खबर

हिउँ परेपछि नियन्त्रणमा आयो मनाङको डडेलो

मनाङ । लामो समयदेखि मनाङको जङ्गलमा लागेको आगो नियन्त्रणमा आइरहेको छ । मानव संशाधनले नियन्त्रणमा लिन नसकेको आगलागी अहिले नियन्त्रण हुँदै गएको छ ।

मनाङमा हिउँ नपरेपछि जंगलमा लागेको आगो हिउँ पर्न थालेसँगै नियन्त्रणमा आउँदै गएको छ । 

करिब दुई महिनादेखि लागेको आगो नियन्त्रणमा आउन कठिन भएको अवस्थामा मौसमी परिवर्तनले मनाङको आगो नियन्त्रणमा आउँदै गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

मौसमी परिवर्तनले पहाडी तथा तराई क्षेत्रमा वर्षा भएसँगै हिउँ परेपछि आगो स्वतः नियन्त्रणमा आउन लागेको लामिछानेले बताए ।

‘हिउँ नपर्दा मनाङका जङ्गलमा लागेको आगो नियन्त्रणमा कठिन भएको थियो, आज  बिहानैबाट हिउँ पर्न थालेपछि आगो नियन्त्रणमा आइरहेको छ, हिउँ पर्न थालेपछि पूर्णरुपमा आगलागी नियन्त्रणमा आउनेछ’, उनले भने ।

मानव संशाधन प्रयोग गरेर नियन्त्रणमा लिन नसकेको आगलागीलाई प्रकृतिले नियन्त्रण गरेको उनको भनाइ छ । 

लामो समयदेखि मनाङका विभिन्न जंलमा लागेको आगोले केही गाउँ, बस्ती जोगाउन हम्मेहम्मे परेको थियो । हिउँ नपर्दा लागेको आगोले त्यस क्षेत्रका मानवीय बस्ती जोगाउन मुस्किल भएकै थियो भने जंगली जनावरको बासस्थान मासिएका छन् ।

कति जङ्गली जीवजन्तु मासिएका छन् भन्नेसमेत यकिन गर्न सकिएका छैनन् । मनाङको जगंलमा संरक्षित पशुपक्षीको बासस्थान मासिँदा स्थानीयवासीसमेत चिन्तित बनेका छन् ।

मनाङको जगंलमा घोरल, चितुवा, भालुलगायतका विभिन्न पशुपक्षीको बासस्थान मासिएको छ । मानव बस्ती जोगिए पनि जगंली पशुपक्षीको बासस्थान भने जोगिएको छैन । 

हिउँ परेपछि आगो नियन्त्रणमा आउँदा सुरक्षित महसुस भएको नासो गाउँपालिका–८ ताजैगाउँकी स्थानीय काशी गुरुङले बताइन् ।

हिउँ परेपछि मनाङवासी अहिले हर्षित भएका छन् । हिउँ परेपछि आगो नियन्त्रणमा आउनु र हिउँले उत्पादनमा टेवा पुर्‍याउने भन्दै मनाङवासी हर्षित भएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *