राजनीति

अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध: पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताएका छन् ।

नेकपा वाग्मती प्रदेश कमिटीले आज आयोजना गरेको आमसभामा उनले अहिलेको लडाइँ पद प्राप्तिका लागि नभएर मुलुकलाई स्थिरता दिनका लागि भएको स्पष्ट पारे ।

लामो राजनीतिक अस्थिरताबाट आक्रान्त मुलुकलाई स्थायित्व दिने र आर्थिक विकास समृद्धिबाट पछि परेको मुलुकलाई अघि बढाउने प्रधानमन्त्री ओलीको उद्देश्य रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले ‘संविधानको रक्षा गर्दै अराजकताको अन्त्य गर्ने उद्देश्यमा अघि बढिरहँदा त्यसलाई असफल गर्ने काम भएकाले’ सोकोविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको स्पष्ट गरे ।

सम्पूर्ण कुराको फैसला जनताले गर्ने भएकाले ताजा जनादेशमा जाने निर्णय गरेर अघि बढिएको उनले बताए ।

उनले भने, ‘जनताले जे फैसला गर्छन्, त्यो हामी शिरोधार्य गर्ने भनी निर्वाचनमा जान लागेका हौँ ।’

पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमा धक्का दिएर निकाल्ने दुष्प्रयास भएको उनको भनाइ थियो । हिजो महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई फेरि महाधिवेशन नगरी हटाउन खोजिएको बताउँदै उनले भने, ‘यो कुरा आमजनता र कार्यकर्ताले रुचाएका छैनन् ।’

आर्थिक विकास र समृद्धिको अभियानलाई निरन्तरता दिँदै संविधानको रक्षा तथा समृद्ध नेपाल सुखी नेपालीलाई साकार बनाउने उद्देश्यमा सरकार लागिपरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *