काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हवाइ उडान थप हुने भएको छ । संघीय राजधानी काठमाडौंबाट श्री एयरलाइन्सले पनि उडान गर्ने भएको हो ।
उडान गर्नका लागि श्रीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ । भोलिको उडानको तालिका राखिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
काठमाडौंबाट यसअघि बुद्ध एयरलेमात्र उडान गर्दै आएको थियो । बुद्धले ४२ सिट क्षमताको जहाजबाट उडान गरिरहेको छ ।
श्रीले ८० सिट क्षमताको जहाजबाट उडान गर्ने भएको छ । भोलि परीक्षण उडान गरेपछि ८० सिटको जहाजमा कति यात्रु बोक्न सकिन्छ भन्ने यकिन हुन्छ ।
पूर्ण क्षमतामा यात्रु बोक्न नपाएपनि श्रीको उडान भएसँगै काठमाडौं-सुर्खेतको हवाइ भाडा प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।
श्रीले बम्बार्डियरको क्यु–४०० जहाजबाट सुर्खेत उडान गर्ने तयारी गरेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पहाडी तथा हिमाली जिल्लामा उडान हुने भएपनि संघीय राजधानी काठमाडौंसँग भने अविच्छिन्न हवाइ सम्पर्क हुन सकिरहेको छैन ।