राजनीति

भागरथी भट्टका हत्यारालाई कारबाही गर्न बृहत् नागरिक आन्दोलनको माग

काठमाडौं । बृहत् नागरिक आन्दोलनले बैतडीको दोगडाकेदार गाउँपालिका-७ स्थित चिडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टका हत्यारालाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ ।

‘कक्षा १२ मा अध्ययनरत भट्टको बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ,’ विज्ञप्ति जारी गर्दै बृहत नागरिक आन्दोलनले भनेको छ, ‘भागरथी भट्टमाथि भएको यस किसिमको आततायी र मानवताविरोधी जघन्य अपराधको गम्भीर छानविन गरी घटनामा संलग्न अपराधी पत्ता लगाई हत्यारालाई हदैसम्मको कारबाही गर्न बृहत् नागरिक आन्दोलन सरकारसँग माग गर्दछ ।’

उक्त ‘दर्दनाक आपराधिक घटना’ले आफूहरुलाई मर्माहत बनाएको भन्दै बृहत् नागरिक आन्दोलनले यस्तो किसिमको ‘जंगली बर्बरताको’ घोर भत्र्सना गरेको छ । यस्ता घटनाले राज्य महिला र बालिकामाथि हुने हिंसा र बलात्कार नियन्त्रणका लागि जबाफदेही नभएको पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ ।

‘गत असोजमा बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको गोठ जाँदै गर्दा अपहरण गरी बलात्कारपछि हत्या गरिएको घटना नसेलाउँदै यस किसिमको घटना हुनुले राज्य महिला र बालिकामाथि हुने हिंसा र बलात्कार नियन्त्रणका लागि अलिकति पनि जबाफदेही नभएको पुष्टि गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रहरीकै तथ्यांकअनुसार २०७६ चैतदेखि २०७७ पुससम्म करिब २०० भन्दा बढी जबर्जस्ती करणीसम्बन्धी घटना भएको उल्लेख गर्दै बृहत् नागरिक आन्दोलनले यस्ता अधिकांश घटनाका पीडितले न्याय पाउन नसकेको जनाएको छ ।

न्याय नपाउँदा पीडितले राज्यविहीन महशुस गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘भागरथी भट्टको हत्यासम्बन्धी यस घटनाको तुरुन्त निष्पक्ष छानबिन होस् । कुनै पनि बहानामा घटनालाई ढाकछोप गर्ने वा षड्यन्त्रपूर्वक न्यायिक प्रकृयामा तगारो हाल्ने वा पीडकलाई छुटकारा दिने र पीडितलाई थप पीडा दिने काम नहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *