पालिका खबर

चिनी मिल संचालकलाई हिरासतमा राख्न सात दिन म्याद थप

मलंगवा । वर्षौंदेखि उखु किसानको करोडौं रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगका संचालक राकेश अग्रवाललाई अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतले सात दिनको म्याद दिएको छ ।

सर्लाही प्रहरीको हिरासतमा रहेका अग्रवाललाई योसमेत तेस्रो पटक अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतले म्याद दिएको हो ।

काठमाडौंबाट पक्राउ परेका अग्रवाललाई अनुसन्धानका लागि सर्लाही पठाइएको थियो । जिल्ला अदालतले पहिलो पटक पाँच दिनको, दोस्रो पटक सात दिनको र तेस्रो पटक पनि सात दिनको म्याद दिएको हो ।

अग्रवाललाई माघ १४ गते काठमाडौंको त्रिपुरेश्वरस्थित घरबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि सर्लाहीका सर्लाहीका ३१ जना किसानले उखुको भुक्तानी नदिएको भन्दै किटानी जाहेरी दिएका थिए ।

अग्रवाल विरुद्ध ठगी, अपराधिक विश्वासघात र अपराधिक लाभ सम्बन्धी कसुरमा अहिलेसम्म ३६ जना किसानले लिखित उजुरी दिएको प्रहरीले जनाएको छ ।

अग्रवालविरुद्ध सर्लाही जिल्ला प्रशासन कार्यालयमा ५४३ वटा उजुरी परेको छ । त्योसमेत प्रहरीमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *