अर्थ

चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेर सरकारले आकार घटायो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेर आकार घटाएको छ । चालु आर्थिक वर्षको गत ६ महिनाको खर्चको अनुमानका आधारमा सरकारले १४ खर्ब ७४ अर्बलाई घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको हो ।

अर्थमन्त्रालयमा मंगलबार चालु आर्थिक बर्षको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पहिलो ६ महिनाको पृष्ठभूमिको आधारमा आम्दानी र खर्चको संशोधित अनुमान प्रस्तुत गर्नुभएको हो ।

संशोधित अनुमानमा चालु आर्थिक बर्षमा १४ खर्ब ७४ अर्ब खर्च हुने अनुमान गरिएकोमा १३ खर्ब ४४ अर्ब ६८ करोड मा झारिएको छ । यो कुल विनियोजनको करिब ९१ दशमलब १९ प्रतिशत हो ।

त्यसैगरी चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड , पुँजीगत तर्फ २ खर्ब ८३ अर्ब ४ करोड र वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ४६ अर्ब ८६ करोड हुने अनुमान छ । राजश्व र आन्तरिक ऋणमा चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदान तर्फ ३५ अर्ब र वैदेशिक ऋण तर्फ २ खर्ब ३५ अर्ब खर्च हुने संशोधित अनुमान रहेको छ ।

मन्त्री पौडेलले कोभिड–१९ को प्रभाव कम हुँदै गएको, खोप प्रारम्भ गरिएको र आन्तरिक आर्थिक गतिविधि, क्रमशः पुरानै लयमा फर्कदै गएकाले चालु आर्थिक वर्षको बाँकी अवधिमा बजेट कार्यान्वयनको संशोधित कार्य योजना बनाई कार्यान्वयन गरिने बताए ।

सरकारले यो ६ महिनामा मुद्रास्फिति नियन्त्रणमा रहेको र आर्थिक क्रियाकलापमा सुधार हुँदै आएकाले आर्थिक वृद्धिदर औसत रहने अनुमान गरेको छ । राजश्वको संशोधित अनुमानमा रही राजश्व लक्ष्य पुरा गर्ने, पुँजीगत खर्च बढाउने र साधारण खर्चमा मितव्ययीता अपनाउदै निर्वाचनका लागि आवश्यक पर्ने स्रोतको प्रबन्ध गरिने मन्त्री पौडेलले जानकारी दिए ।

निर्वाचनका लागि आवश्यक स्रोतको प्रबन्ध गर्ने निर्णयमा हस्ताक्षर गरिसकेको जानकारी दिै उनले निर्वाचन आयोगले माग गरे अनुसार झण्डै ७ अर्ब रुपैयाँ सरकारले निर्वाचनका लागि प्रबन्ध गर्ने बताए ।

अर्थसचिव शिशिर ढुंगानाले अनुत्पादक क्षेत्रको खर्च कटौति तथा चालु र पूँजीगत खर्चअन्र्तगत खर्च हुन नसकेको रकमबाट कोरोना भ्याक्सिन र निर्वाचनका लागि आवश्यक रकम जुटाइने बताए । कोरोनाका कारण केही समय रोकिएकाले राष्ट्रिय गौरवका आयोजनामा हुने खर्च कम देखिए पनि विस्तारै अवस्थामा सुधार आएकाले वृद्धि हुँदै जाने बताए ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल विनियोजिन रकमको जम्मा २८ दशमलव १९ प्रतिशत खर्च भएको छ । १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख मध्ये ४ खर्ब १५ अर्ब ७४ करोड ५४ लाख खर्च भएको हो । समिक्षा अवधिको कुल खर्च मध्ये चालु तर्फ ३८ दशमलब शुन्य ८, पुँजीगत तर्फ १४ दशमलब ४ र वित्तीय व्यवस्थापन तर्फ १३ दशमलब ०६ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षमा २ खर्ब २५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पहिलो ६ महिनामा जम्मा ५७ अर्व ऋण परिचालन गरिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरूमा विनियोजनको १५ दशमलब १९ प्रतिशत मात्रै खर्च भएको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात ४ दशमलब ८ र कुल व्यापार घाटा ५ दशमलब ८ प्रतिशतले घटेको छ । शोधानान्तर स्थिति भने १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा छ ।

चालु खाता ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले संकलन गर्ने निक्षेपमा ९ दशमलब २ प्रतिशतले वृद्धि भएको छ भने आन्तरिक कर्जा ८ दशमलब २ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published.