शिक्षा

बागलुङका बालबालिकामा पठनसीप बढाइँदै

बागलुङ । कक्षा १ देखि ३ सम्मका बालबालिकामा पठनसीप विकास गर्न जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू गरिएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक/प्राविधिक सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

नेपाली पहिलो भाषा भएका र नेपाली दोस्रो भाषा भएका सामुदायिक विद्यालयका बालबालिकाको पठनसीप अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको एनइजिआरपीका जिल्ला संयोजक बुद्धिबल थापामगरले जानकारी दिए । 

प्राररम्भिक तहका बालबालिकाको पठनसीप कमजोर पाइएपछि सरकारले सन् २०१४÷०१५ देखि उक्त कार्यक्रम सुरु गरेको थियो । पहिलो चरणमा १६ जिल्लामा लागू भएको कार्यक्रम यस वर्षदेखि बागलुङसहित ३८ जिल्लामा विस्तार गरिएको हो ।

कार्यक्रम कार्यान्वयनका लागि जिल्लाभरका ५१७ सामुदायिक विद्यालयमा सन्दर्भ सामग्री पुर्याइएको उनले बताए । ‘तीनै वटा कक्षामा ५९ शीर्षकका गरी एउटा विद्यालयमा कूल १७७ वटा सन्दर्भ सामग्री पुगेका छन्’, उनले भने । 

कक्षागत पुस्तकालय निर्माण, शिक्षण सामग्रीलगायत व्यवस्थापकीय कामका लागि स्थानीय तहमार्फत प्रत्येक विद्यालयमा रु नौ हजारका दरले बजेटसमेत उपलब्ध गराइएको छ । कार्यक्रम कार्यान्वयनको जिम्मा पनि स्थानीय तहलाई नै तोकिएको छ । 

पाठ्यक्रम विकास केन्द्रले नै तयार पारेका सन्दर्भ सामग्रीको प्रयोगमार्फत बालबालिकाको पठनसीप अभिवृद्धि गर्न कक्षा शिक्षकका लागि तालीम र पेशागत सहयोग प्रदान गरिने छ  ।

उनका अनुसार प्रारम्भिक तहमा अध्यापनरत दुई सय शिक्षकलाई तालीम दिन तयारी अगाडि बढाइएको छ । ‘पाठ्यक्रमसँग मिल्दाजुल्दा सन्दर्भ सामग्री छन्, तिनको प्रयोग गरेर पढाउँदा बालबालिका छिटो सिक्छन्, पठनसीप पनि बढ्छ’, उनले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *