पालिका खबर

मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सचिवको सुझाव

कर्णाली । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सुझाव दिएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले शनिबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममासचिव पाण्डेले पछिल्लो समयमा मालपोतको सेवा प्रवाहले नागरिक तहबाट थुप्रै गुनासा आउन थालेको टिप्पणी गरे ।

‘आध्यात्मिक चिन्तनमा लाग्नुस्, साँझ परेपछि कुखुरा र अङ्ग्रेजी पानीतर्फ लाग्ने होइन’, कर्मचारीप्रति व्यङ्ग्य गर्दै उनले भने, ‘अनावश्यक चिन्तनले हाम्रो मानसिकतालाई भ्रष्ट र कमजोर बनाउँछ । औषधि खानुपर्ने अवस्थाले झनै समस्या आउला ।’

हामीले आर्जन गरेको सम्पत्तिले भावी पुस्तालाई नपुग्ने भन्दै सचिव पाण्डेले भोलिको पुस्ताले नधिक्कार्ने गरी सार्थकतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न र सेवा प्रवाहमा आएका विभिन्न त्रुटि एवं ढिलासुस्तीलाई गम्भीरताका साथ ध्यानमा राखेर प्रणालीलाई स्थापित बनाउन कर्मचारीहरुलाई निर्देशन दिए ।

समीक्षा कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ‘कोभिड-१९’ का कारण लामो समयसम्म ठप्प भएको मालपोतको काम कारबाही एक्कासि खुला हुँदा बाँध फुटेजस्तो गरी मालपोत कार्यालयमा सेवाग्रहीको भीड लाग्दा बढी समस्या भएको बताए ।

यद्यपि पछिल्लो समयमा केही कमीकमजोरीसमेत मालपोतमा देखिएको उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘मैले नजिक नियालेँ, मालपोत कर्मचारी जनतासित झर्केको र दलालसित लस्केर काम गरेको अनुभूति भयो । शुल्क बढाएर आउने सेवाग्रहीलाई झ्यालबाट छिराएर काम गर्ने र झ्यालमा झुण्डिएर काम गर्ने दलालहरुको काम छिटो गर्ने कार्यले मालपोतप्रति नागरिकको दृष्टिकोण नकरात्मक बनेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *