पालिका खबर

माटो निकालेर फेवातालको आयु लम्ब्याइने

पोखरा । पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ ।

पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ । 

तालको सिरान क्षेत्रबाट बगेर आएको ढुंगा माटो (ग्रेगान) कारण तालको आयु घट्दै गएको जनाउँदै यसअघि पनि समयसमयमा माटो निकाल्नुपर्छ भन्ने विषयमा कुरा उठ्दै आइरहेको थियो ।

सम्पदा संरक्षण अधिकारकर्मी रामबहादुर पौडेलले तालको पानी घटाइएकाले थुप्रिएका माटो निकाल्न उपयुक्त समय भएको बताउँछन् । ‘फेवाताल पोखराको गहना हो, तालको आयुलाई बढाउन यसरी थुप्रिएको माटोलाई समयमै निकालेर फाल्नुपर्छ’, उनले भने । 

पोखरा महानगपालिका प्रमुख मानबहादुर जिसीले फेवातालको माटो निकाल्ने विषयमा विज्ञको रायसुझाव लिएर मात्र निर्णय गरिने जानकारी दिए ।

‘अहिले बाँध निर्माणका लागि फेवातालको पानी घटाइएको छ, सिरानबाट आएका ग्रेगानले तालको लगभग नौ मिटर पुरिसकेको अवस्था रहेकाले यसलाई निकै चासोका रुपमा महानगरले लिएको छ’, उनले भने । 

उनले तालको माटोलाई कसरी निकाल्न सकिन्छ र कहाँ व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे पहिला सरोकारवाला विज्ञसँग परामर्श गरेर अघि बढ्ने बताए ।

बाँध बनाउन डेढ दुई महिना लाग्ने भएकाले तत्काल फालिहाल्नु पर्छ भनेर दबाबले मात्र नभई ग्रेगान निकाल्दा जलचर र ताललाई कम असर हुने उपायको खोजीबाट अघि बढ्ने उनले जानकारी दिए ।

तालको आयु दिनप्रति घटिरहेको अवस्थामा तालको आयु बढाउन सरोकारवालासँग छलफल गरिने उनको भनाइ छ । 

ताल संरक्षण तथा प्राधिकरणका प्रमुख अनुप गुरुङले तालको फोहर व्यवस्थापन र तालमा थुप्रिएको माटो निकाल्न अहिले उपयुक्त समय रहेको बताएका छन् । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले भावनामा बगेरभन्दा पनि तथ्यको विश्लेषण गरेर काम गर्नुपर्ने बताउँछन् ।

‘सिमसार र तालको एकल अधिकार संघलाई छ, प्रदेशको गहनाका रुपमा रहेको तालको सौन्दर्यअभिवृद्धिका विषयमा धेरै कुरा उठेका छन् । हामीले हाम्रो क्षेत्राधिकारभित्रको सिमांकनका विषयलाई तीव्ररुपमा काम गरेका छौं यसै वर्ष यो टुङ्गो लाग्छ, अब यसको संरक्षण व्यवस्थापन स्थानीय तहको हो, समन्वय गरेरर ठोस धारणासहित अघि बढ्न सकिन्छ’, उनले भने ।

उनले प्राकृतिक सम्पदाको संरक्षण र सौन्दर्यीकरणका लागि विज्ञको राय सुझाव र दीर्घकालीन हितका लागि काम गर्नुपर्ने भएकाले लहडको भरमा नभई विज्ञको सल्लाह लिएर अघि बढ्नुपर्ने बताए । 

विसं २०१८ मा बाँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । सुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसंघको सहयोगमा पुनःनिमाण गरिएको थियो ।

त्यसयता लामो समयसम्म बाँध मर्मतसम्भार हुन नसक्दा जीर्ण हुँदै गएको थियो । उक्त बाँधमा अहिले रबर शिल्ड र लञ्चिङ एप्रोन राखेर मर्मत कार्य हुँदैछ । बाँध मर्मतका लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने जनाइएको छ । 

जलाधार क्षेत्रबाट वर्षेनी बगेर आउने गेग्रानले गर्दा फेवाताल पुरिँदै गएको निष्कर्षसहित फेवाताल संरक्षण अभियानअन्तर्गत पोखरा महानगरपालिका वडा नं २३ खहरे खोलामा सिल्टेसन ड्याम निर्माण गरिएको छ ।

प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरले पाँच ठाउँमा बाँध र पोखरीका २८ करोड ९६ लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भई काम भएको हो ।  महानगरपालिकाले २०७७ सालमा प्रधानमन्त्रीलाई बुझाएको पछिल्लो प्रतिवेदनमा फेवातालको क्षेत्रफल (५.०८ वर्गकिलोमिटर) १० हजार रोपनी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *