राजनीति

भागरथीकी परिवारलाई कांग्रेसले दियो दुई लाख

बैतडी । नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएको बैतडीकी भागरथी भट्टकी आमालाई दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

हत्याको यथार्थ बुझ्‍न बैतडी पुगेका केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसले मृतकका आमा द्रोपती भट्टलाई दुई लाख नगद सहयोग प्रदान गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतकका आमालाई हस्तान्तरण गरेका हुन् । लेखकले घटनाको बारेमा स्थलगत अवलोकन गरेका छन् ।

उनले भागरथीका परिवार, जनप्रतिनिधि र प्रहरीले गरेको अनुसन्धानका विषयमा पनि जानकारी लिएका छन् ।

पूर्वमन्त्री लेखकले भागरथीका परिवारसँग घरमै पुगेर भेटघाट गरेका हुन् । उनले भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने बताए ।

लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहेका सुदूरपश्‍चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारी लिएका थिए ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी भागरथी माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । 

Leave a Reply

Your email address will not be published.