पालिका खबर

महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने

काठमाडौं । गौचरनको रूपमा परिणत भएको कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । सो विमानस्थलको विस्तार र क्षमता विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारका बीचमा साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो ।

सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको रोहवरमा विमानस्थल विस्तार तथा विकाससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमख सुरेन्द्र विष्ट तथा दोधराचाँदनी नगरपालिकाका प्रतिनिधि वडा नं ७ का अध्यक्ष ज्ञानेन्द्र बाहेकको उपस्थिति थियो ।

सम्झौतापत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल तथा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्ट र दोधराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरी आदनप्रदान गरेका थिए । 
    
सो अवसरमा पर्यटन मन्त्री ढकालले महेन्द्रनगर विमानस्थलको विस्तार र विकासमा तीन तहका सरकारको साझेदारी सबैका लागि खुशीको विषय भएको बताए । पर्यटन मन्त्रीले पछिल्लो समय विमानस्थल बनाउने होडबाजी चलेको र खासगरी निर्वाचनका बेला यस्ता एजेण्डा अगाडि बढाउने गरिएको प्रसङ्ग उल्लेख गर्दै आवश्यकता र औचित्यताका आधारमा विमानस्थल बनाउने सरकारको नीतिअनुरुप महेन्द्रनगर विमानस्थल सम्भावना बोकेको प्राथमिकतायुक्त आयोजना भएको बताए ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले क्षेत्रीय उडान, धार्मिक पर्यटन प्रवद्र्धनका हिसाबले महेन्द्रनगर विमानस्थल उपयुक्त गन्तव्य भएकाले तीन तहका सरकारको साझेदारीमा विमानस्थलको विकास र विस्तारको कामलाई अघि बढाइने बताए । 

महेन्द्रनगर विमानस्थल विगत लामो समय सञ्चालनमा आएर पनि बन्द भएको थियो । क्यानका महानिर्देशक पोखरेलका अनुसार तत्कालीन हवाई विभागअन्तर्गत सन् १९६३ मा स्थापना भएको यो विमानस्थलबाट नेपालगञ्ज र नेपालगञ्जदेखि काठमाडौँ उडान हुने गरेको थियो । 

सुदूरपश्चिमका दुर्गम पहाडी भेगको उडान तथा क्षेत्रीय उडान सञ्चालनका लागि महेन्द्रनगर विमानस्थल उपयुक्त गन्तव्य मानिन्छ । छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्ली महेन्द्रनगरदेखि करिब साँढे तीन किलोमिटर दूरीमा पर्छ । सो क्षेत्रमा सुक्खा बन्दरगाहा निर्माणको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *