अर्थ

सरकारले तीन वर्षमा पूर्वाधार क्षेत्रमा गरेका यी महत्वपूर्ण कार्य

काठमाडौं । सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई तीव्रता दिएको हो ।
    
पर्यटकीय पूर्वाधारको महत्वपूर्ण पाटो विमानस्थल निर्माण, विस्तार र स्तरोन्नतिका साथै भूकम्पबाट भत्किएका सम्पदाको पुनःनिर्माणमा आशाजनक काम भएका छन् । कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार छिटै सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थको भौतिक प्रगति ९८ दशमलव आठ प्रतिशत रहेको छ । 

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हाल ७० प्रतिशत भौतिक प्रगति रहेको छ । यदि कोभिड महामारी नभइदिएको भए यी विमानस्थल यतिखेर सञ्चालनमा हुन्थे । पर्यटनमन्त्री भानुभक्त ढकालले निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः पोखरा र भैरहवाको निर्माणलाई तीव्रता दिई छिट्टै सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको बताए । 

पर्यटनमन्त्री ढकालले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको प्राविधिक काम पनि छिटै सक्ने योजनाका साथ काम अघि बढेको जानकारी दिए । ‘कोभिड–१९ का कारण प्राविधिक जनशक्ति अभावले केही काम बाँकी छ, त्यो समस्या पनि छिट्टै समाधान हुने गरी काम अघि बढाएका छौँ’, पर्यटन मन्त्रीले भने । 

मन्त्री ढकालका अनुसार भएका विमानस्थलको व्यवस्थित र स्तरोन्नति गरिने छ । क्षेत्रीय विमानस्थलको विकास र स्तरोन्नतिका साथै अन्य विमानस्थलको स्तरोन्नति गर्ने कार्य शीघ्र अघि बढाइने छ । उनले अन्तर प्रदेश हवाई उडानका साथै अन्य बाह्य मुलुकसँगको हवाई सम्पर्क सञ्जाल विस्तारका लागि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिए । 

पर्यटन मन्त्रीले पछिल्लोपटक इजरायलसँग सिधा हवाई उडान सञ्चालनबारे नेपालका लागि इजरायली राजदूतसँग छलफल गरेका थिए । हाल नेपालले विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौतामा हस्ताक्षर गरिसकेको छ । असहज परिस्थितिमा पनि हवाई पूर्वाधारले फड्को मारेको छ ।
    
क्यानका महानिर्देशक राजन पोखरेलले कोभिड महामारीले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामा केही असर परे पनि अहिले निर्माण कार्य पूर्ववत् अवस्थामा फर्किसकेको र पूर्वाधारका निर्माणको कामले गति लिएको बताए । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा आन्तरिक विमानस्थलको व्यवस्थापन र सुदृढीकरणका लागि क्यानले योजनाबद्ध कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।
    
चीनको हुवई प्रान्तको वुहानलगायत शहरमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी रुपमा फैलियो । यसले विश्व अर्थतन्त्रलाई शिथिल तुल्यायो । विश्व पर्यटन क्षेत्रमा नकारात्मक असर पुग्यो भने नेपालको अर्थतन्त्रले पनि कोभिडको मार खेप्नुपर्यो । 

महामारीले झण्डै १० महिना मुलुकको विकास तथा आर्थिक क्रियाकलापमा नराम्ररी असर पर्यो । कोभिडबाट अर्थतन्त्रका अन्य क्षेत्र जस्तै सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्कने अवस्थामा छ । पर्यटनको महत्वपूर्ण पाटो आन्तरिक हवाई उडान पूर्ववत् अवस्थामा फर्किसकेको छ भने बढी मारमा परेको होटल क्षेत्रमा केही सकारात्मक सञ्चार छाएको छ । विदेशी पर्यटकको आवागमन विस्तारै बढ्दैछ । 

पर्यटनका अन्य व्यवसाय पनि सुरु भइसकेका छन् । पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटको भिडभाड हुनथालेको छ । कोभिड महामारीकैबीच गत असोज ५ गतेदेखि मुलुकको आन्तरिक उडान सुरु भएको थियो । त्यस्तै गत भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खुलेको भए पनि उडान संख्या बढ्न सकेको छैन । 

कात्तिक महिनादेखि पर्वतारोहण र पदयात्रा खुलेको छ । मंसीरबाट पर्यटनका अन्य गतिविधि पनि पुनः सञ्चालन  भइसकेका छन् । तुलनात्मक लाभका दृष्टिकोणले मुलुकको अर्थतन्त्रलाई टेवा दिन पर्यटन क्षेत्रको समग्र विकास, परिवर्तित र आधुनिक परिवेश सुहाउँदो सेवा स्तरीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारी रूपमा अघि बढाइएको छ ।
    
केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा २०७४ फागुन ३ गते वर्तमान सरकारको नेतृत्व लिएका थिए । समृद्ध नेपाल सुखी नेपालीको अवधारणा अघि सारेका प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारको रुपमा पर्यटन क्षेत्रलाई लिएर यसको विकास विस्तारमा जोड दिएका छन् ।  

हवाई पूर्वाधारका यी उपलब्धि
    
सरकारको तीन वर्षे अवधिमा हवाई पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सार्वजनिक गर्नु भएको सरकारको प्रगति विवरणअनुसार मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग पुनःनिर्माण गरिएको छ ।

 विमानस्थलको धावन मार्गको जीर्णोद्वार गरिएको हो । यो पुनःनिमाण ४० वर्षपछि तोकिएको समयभित्रै सम्पन्न भएको आयोजना हो । यस अवधिमा नेपालका ५३ विमानस्थलमध्ये बाह्रै महिना सञ्चालन हुने विमानस्थलको सङ्ख्या २९ बाट ३६ पुगेको छ । 

यीमध्ये रात्रिकालीन उडानयोग्य विमानस्थलको सङ्ख्या आठ पुगेको छ । विराटनगर, सुर्खेत र महेन्द्रनगर विमानस्थललाई प्रदेश र स्थानीय तहसँग समन्वय गरी विस्तारको काम अघि बढाइएको छ । धनगढी, काठमाडौं, जनकपुर, विराटनगर र भद्रपुर विमानस्थलमा प्रतिकूल मौसमको समयमा पनि भूउपग्रहमार्फत उडान तथा अवतरण हुने प्रणालीको स्थापना गरिएको छ । 
    
क्यानको २२औँ वार्षिक प्रगति विवरणमा आव २०७६/७७ मा पूँजीगत खर्चतर्फ रु ३४ अर्ब चार करोड ३७ लाख र कार्यसञ्चालन खर्च रु आठ अर्ब १८ करोड ८४ लाख गरी जम्मा ३८ अर्ब २३ करोड ११ लाख व्यय अनुमान गरिएकामा पूँजीगत खर्च रु १५ अर्ब ४१ करोड २९ लाख छ । चालू आव २०७७/७८ का लागि पूँजीगत खर्च तर्फ रु २८ अर्ब ९२ करोड २७ लाख तथा कार्य सञ्चालनतर्फ रु तीन अर्ब ६६ करोड गरी जम्मा रु ३२ अर्ब ५८ करोड ९३ लाख विनियोजन गरिएको छ । 
    
विसं २०७२ को गोरखा ९७।६ रेक्टर० भूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्रले पछिल्ला वर्षमा गति लियो । विसं २०७४ संविधानसभाको निर्वाचनपछि स्थायी सरकार बन्यो । त्यसको सकारात्मक असर पर्यटन क्षेत्रमा देखिएको छ । पछिल्ला वर्षमा नेपालमा पर्यटकको आगमन बढेको छ । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१७ मा १० लाख, सन् २०१८ मा १२ लाख हाराहारी र सन् २०१९ मा झण्डै सोही सङ्ख्यामा विदेशी पर्यटन नेपाल भ्रमणमा आएका छन् । सन् २०२० मा कोभिड महामारीका कारण विदेशी पर्यटकको सङ्ख्यामा करीब ८० प्रतिशत गिरावट आएको छ । यस अवधिमा करीब दुई लाख मात्र विदेशी नेपाल आएका छन् ।

सम्पदा तर्फ

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणको कामले पनि गति लिएको छ । हालसम्म करीब ५६५ सम्पदाको पुनःनिर्माण सकिएको छ । बाँकी सम्पदा पुनःनिर्माणको काम चाँडै सक्ने योजना छ ।

 भूकम्पबाट क्षतिग्रस्त धरहरालाई ‘ऐतिहासिकता झल्कने र आधुनिकता टल्कने’ गरी नेपालको गौरवको रुपमा उभ्याउन सफल भएको छ । अहिले २२ तल्ले धरहराको २१औँ तल्लाको ढलान सम्पन्न भइसकेको छ । यसै वर्ष निर्माण पूरा हुँदैछ ।
    
मन्त्रालयको नीतिगत सुधारतर्फ नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी सेवा प्रदायक र नियामक निकाय बनाउने गरी विधेयक राष्ट्रियसभामा पेश भइसकेको छ । नीतिगत सुधारतर्फ पनि निकै प्रगति भएको छ । पर्यटन ऐन र हवाई नीतिको अन्तिम मस्यौदा तयार भई अन्तर मन्त्रालय छलफलको क्रममा छ ।
    
महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको हस्पिटालिटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । अबको दुई वर्षको अवधिमा निर्माणाधीन झण्डै १० वटा पाँचतारे होटल पूर्ण सञ्चालनमा आउनेछन् ।

 काठमाडौं, भैरहवा, नेपालगञ्ज पोखरामा पाँचतारे होटल थपिएका हुन् । होटल एशोसिएशन अफ नेपाल हानका अनुसार अहिले मुलुकमा करीब चार हजार ८०० श्यया छन् । पर्यटकस्तरीय करीब दुई हजार होटल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *