अर्थ

किसानले उखु दिन नमान्दा चिनी मिललाई उखु अभाव

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ ।

गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा उखु आयात नहुँदा मिललाई उखुको अभाव सिर्जना भएको महाप्रबन्धक कृष्णचन्द्र दासले बताए ।

विगतका वर्षमा दैनिक ५०-६० हजार क्विन्टल र कुनै कुनै दिन एक लाख क्विन्टलसम्म उखु क्रसिङ हुने यस मिलमा अहिले उखु अभावमा दैनिक १०-१२ हजार क्विन्टल मात्रै क्रसिङ हुने गरेको छ ।

मिलको क्षमताअनुसार उखु प्राप्त नहुँदा उखु क्रसिङ तथा चिनी उत्पादन हुन नसकेको जनाइको छ ।

अहिले चिनी मिलका कर्मचारीले नगद रुपैयाँ लिएर महोत्तरी, धनुषा, सर्लाही जिल्लाको गाउँगाउँमा उखु खरीद गर्न गए पनि किसानले आवश्यक मात्रामा उखु मिललाई प्रदान गरिरहेका छैनन् ।

यता उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष नरेश सिंहले चिनी उद्योगले उखु उत्पादकलाई उखु लिएबापतको रकम भुक्तानी गर्न दुई–तीन वर्ष लगाउने गरेको, पैसाको लागि आन्दोलन गर्नुपरेको र आफ्नै पैसाका लागि ज्यानसम्म गुमाउनु परेको कारण किसानले पर्याप्त मात्रामा उखु उत्पादन नगर्दा मिललाई उखु अभाव भएको बताए । 

मिललाई उधारोमा उखु बिक्री गर्नुको साटो किसानले अहिले गाउँघरमै स्थानीयस्तरमा सख्खर तयार गर्ने क्रसिङ सेन्टरमा नगदमै उखु बिक्री गरिरहेको उनले बताए ।

उनले भने, ‘यसवर्ष जिल्लामा उखु उत्पादनमा ४० प्रतिशतले कमी आएको छ भने चिनी मिलको रवैया कारण विस्तारै उत्पादनको परिणाम घट्दै जाने निश्चित छ ।’ 

कुनैबेला ५८ लाख क्विन्टल उखु क्रसिङ गरेर मुलुककै पहिलो चिनी कारखाना बनेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका यार्ड (उखु लिएर आएका गाडी पार्किङ गर्ने ठाउँ) अहिले सुनसान छ भने चिनी मिलले नगदमै पनि उखु पाउन नसक्दा मिललाई उखुको अभाव सिर्जना भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *