राजनीति

प्रधानमन्त्री ओलीले अवहेलनाविरुद्धको मुद्दामा अदालतमा लिखित जवाफ पेश गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । 

अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैं लिखित जवाफ पेश गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो ।

‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका लागि’ आफैं उपस्थित भएर उनले लिखित जवाफ पेश गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले लिखित जवाफ मात्र दिए पनि हुनेमा अदालतको सम्मान गर्दै आफैं आएर पेश गरेको उनले बताए । 
 
न्यायाधीश डा.मनोज शर्माको एकल इजलासले जारी गरेको आदेशमा ‘म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैं लिखित जवाफ पेश गर्नुहोला’, भनिएको थियो । 

वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालत, संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर प्रधानमन्त्रीले न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *