अर्थ

आयोजना मर्मत नहुँदा विद्युत प्रयोग विहीन

पर्वत । लघुजलविद्युत् आयोजना मर्मत नहुँदा पर्वतका ग्रामीण क्षेत्रमा उत्पादन हुने १५६ किलोवाट जलविद्युत् प्रयोगबिहीन बनेको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालित झण्डै दर्जनको सङ्ख्यामा रहेका लघुजलविद्युतबाट सो विद्युत् उत्पादनको क्षमता रहेको छ ।

कुनै समय जिल्लाका दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने ध्ययले जलविद्युत उत्पादनमा लगानी  गरिएको थियो ।  लाखौँ रकम लगानी गरेर सञ्चालित लघुजलविद्युत् आयोजना अहिले अलपत्र बनेका छन् ।

सामान्य लगानीमा मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने भए पनि स्थानीय तहको बेवास्ताका कारण आयोजना अलपत्र बनेका हुन् । विगत दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द छन् ।

तीन वर्ष अघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेको भए पनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका हुन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएको हो । 
        
दक्षिण पर्वतको पैँंयु गाउँपालिकामा सञ्चालित सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, फलेवास नगरपालिका–११ पाङराङको साढे ७ किलोवाट क्षमताको गढिसिँद्ध र विहादी गाउँपालिका–१ को ११ किलोवाटको बाच्छाखोला, पैंँयु गाउँपालिका–४ हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, वडा नं ७ भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट, मोदी–४ क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न छाडिएको हो । 

त्यस्तै विहादीकै बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनामा पनि उत्पादन गर्न छाडेका छन् । पर्वतको मोदी गाउँपालिका–१ भुकताङलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघुजलविद्युत आयोजना पनि तीन वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र बनेको छ ।

महाशिला गाउँपालिका–२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र ९ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि दुई वर्षअघि गाउँमा केन्द्रीय प्रशारणलाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । 

मर्मतको अभाव र कम क्षमता हुने भए पनि स्थानीयवासीले मर्मतमा पनि बेवास्ता गरेका हुन् । तत्कालीन  जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेटसमेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयवासीले मर्मतमा बेवास्ता गरेका हुन् । स्थानीय तहले मर्मत गरेर बिजुली प्रयोगमा ल्याउने हो भने धेरै फाइदा हुने उनको भनाइ छ । 
        
उनले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीयलाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताइन् । पछिल्लो समय स्थानीय तहले पनि उक्त लघुविद्युत मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् ।  स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हुँदै गएको बाच्छाका भीमबहादुर खड्काले बताए । 

जिल्लाका ११ लघुजलविद्युत् आयोजनाबाट १५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । यसबाट दुई हजार चार सय तीन घरधुरीका २० हजार भन्दा बढी बासिन्दा लाभान्वित भएका थिए । 

युएनडिपी, विश्व बैंक र सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्वानशेष बनेका छन् । ती आयोजनाको लागि रु दुई करोड २५ लाख खर्चिए तापनि केन्द्रीय प्रसारण, उपभोक्ताको बेवास्ता र मर्मत अभावले लोप हुने अवस्थामा पुगेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *