पालिका खबर

हिल्सा नाका सञ्चालनमा ल्याउन व्यावसायीको माग

सिमकोट । हुम्लाका पर्यटन तथा होटल व्यावसायीहरुले चीनसँगको हिल्सा नाका सञ्चालनमा ल्याउन माग गरेका छन् ।

मानसरोवर कैलाशको सिजन सुरु हुन लागेपछि व्यावसायीहरुले नाका खोल्न माग गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि बन्द नाका सञ्चालनमा ल्याएर चीनसँगको व्यापार व्यवसाय, पर्यटन क्षेत्र सुचारु गर्नका नेपाल सरकारसँग माग गरेको उद्योग वाणिज्य संघ हुम्लाका उपाध्यक्ष रामबहादुर भण्डारीले बताए ।

नाका बन्द भएका कारण उत्तरी क्षेत्रका व्यापारीहरुको चीनसँगको व्यापार ठप्प छ ।

होटेल तथा पर्यटन व्यवसायी रिन्जिङ लामाले आगामी वैशाख दोस्रो हप्ताबाट मानसरोवर कैलाशको सिजन सुरु हुने भएको कारण हिल्सा नाका सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए ।

मानसरोवर कैलाशको दर्शन गर्ने भारतीय पर्यटक लक्षित सिमकोट र हिल्साका झण्डै दुई दर्जन होटलहरु हाल बन्द छन् ।

नाका बन्द भएकै कारण हुम्लाबाट ताक्लाकोटतर्फ लैजाने जडिबुटी समेत रोकिएको छ । हिल्सामा रहेका भन्सार, अध्यागमन लगायतका सरकारी कार्यालय पनि बन्द रहँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.