स्वास्थ्य

कोरोनाका चार नयाँ भेरियन्ट फेला

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार  बेलायतमा एक जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३३६ जना पुगेको छ ।
  
संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १२० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । समितिले यस साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको जनाएको छ  ।  

कोरोनाका कारण नेपालमा दुई हजार ६१ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको सङ्ख्या दुई लाख ७३ हजार २६३ जना छ भने २ लाख ६९ हजार ६१९ जना अर्थात् ९८.७ प्रतिशत कोरोनाबाट मुक्त भएको संघ अन्तर्गतको कोभिड– १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

स्वास्थ्य विशेषज्ञले हाल प्रयोगमा आएका खोप सुरक्षित रहेको बताएका छन् । स्वास्थ्य समितिमा आबद्ध चिकित्सकका अनुसार लामो समयको अध्ययन र परीक्षणपश्चात् खोप प्रयोगमा ल्याइएकाले ती प्रयोगका लागि सुरक्षित छन् । हाल कोरोनाको विभिन्न चार नयाँ भेरियन्ट देखा परेको जनाउँदै उनीहरुले अहिले प्रयोगका ल्याइएका खोप नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् ।

बेलायत, क्यालिफोर्निया देश तथा एशिया र दक्षिण अफ्रिका महादेशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो । प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी संक्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने जनाउँदै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ । 

विभिन्न दीर्घ रोगको औषधि सेवन गरिरहेका व्यक्तिले पनि खोप लिनसक्ने समितिले जनाएको छ । गर्भवती, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकालाई खोप नलगाउन भनिएको छ  । यस्तै १८ वर्ष मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन ।  खोप लगाउनु पूर्व आफ्नो स्वास्थ्यका बारे चिकित्सकसँग सल्लाह गर्नसमेत समितिले सुझाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *