राजनीति

सभापतिको अभिव्यक्ति गैरजिम्मेवारः रामचन्द्र पौडेल

काठमाडौं  । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएको बताएका छन् । 

नेपाल प्रेस युनियन सुनसरीले आइतबार गरेको अन्तर्क्रियामा नेता पौडेलले विराटनगरमा शनिबार भएको सभामा प्रधानमन्त्री ओलीले अदालतबाट प्रतिनिधिसभा विघटनको कदम सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति धम्की भएको बताए ।

‘प्रधानमन्त्री पदको गरिमा भुलेर अदालतलबाट आफ्नो असंवैधानिक कदम सदर नभए आन्दोलन गर्छौं भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिँदै छन्,’ पौडेलले भने, ‘यो अदालतमाथि धम्की त हुँदै हो सँगसँगै अदालतले संसद् पुनःस्थापना हुने भयो भनेर आत्तिएको अभिव्यक्ति पनि हो ।’ 

उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापित भए विकृति आउँछ भन्दै दिएको अभिव्यक्तिलाई आकाशतर्फ हेरे थुकेको उपमा दिए ।

‘प्रधानमन्त्री भन्दै छन्, ‘सांसद अपहरणदेखि प्रतिनिधिसभा विघटनसम्मका विकृति निम्त्याउने ओलीले नै प्रतिनिधिसभा पुनःस्थापित भए विकृति आउँछ रे !’, पौडेलले भने, ‘ओली आकाशतिर हेरेर थुक्क्दै छन् ।’ 

पौडेलले नेतृत्वका कारण कांग्रेस लोकतन्त्र र संविधानको रक्षमा खरो उत्रन नसकेको पनि स्वीकार गरे ।

‘पार्टीले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक हो । यस्को विरोध गर्ने भनेर केन्द्रीय समितिले निर्णय गरेको छ,’ पौडेलले भने, ‘त्यही कुरामा पार्टी नेतृत्व अडिन सकेको छैन । मैले केन्द्रीय समितिमा प्रतिनिधिसभा पुनःस्थापना, संवैधानिक आयोगका नियुक्ति खारेजीको निर्णय गरौंभन्दा सुनुवाइ भएन ।’

उनले पार्टी नेतृत्वले आन्दोलन गर्ने पैसा छैन भन्दै दिएको अभिव्यक्तिलाई पनि आपत्तिजनक भने । ‘पार्टीले त आन्दोलनलाई नेतृत्व दिने हो पैसा दिने होइन,’ पौडेलले भने, ‘यो गैरजिम्मेवार अभिव्यक्ति हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *