बलेवा । बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् ।
समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती थालेको किसान बताउँछन् ।
गलकोट नगरपालिकाको रु एक लाख ५० हजार आर्थिक सहयोग र बराहथान किबी उत्पादक कृषक समूहको आफ्नो लगानीबाट शनिबार ३०० किबीका बिरुवा रोपिएको हो ।
किबीका लागि खाडल खन्ने, ढुवानी र रोपण गर्ने समयसम्म रु सात लाख खर्च भएको समूहका अध्यक्ष उमाकान्त सुवेदीले बताए ।
‘नगरले समूहलाई अनुदान दिएको छ, किसानको मेहनत र नगद लगानीसमेत सामूहिक रुपमा भएको छ’, उनले भने, ‘व्यावसायिक उत्पादनको आशा राखेका छौं ।’
किसानले एक हजार ५०० बिरुवा रोप्ने योजना बनाएका छन् । पहिलो चरणमा १५ रोपनी जमीन व्यवस्थापन गरेर थालिएको अभियानलाई अझै बढाउने र किबीको पकेट क्षेत्र बनाउने योजना पनि उनीहरुले सुनाए ।
सुवेदीले भने, ‘यो पहिलो चरणको थालनी मात्रै हो ।’ किसानले थालेको अभियानमा वडाध्यक्ष बलबहादुर खत्रीले साथ दिने प्रतिबद्धता जनाए ।
साथै उनले बिरुवा खोजी र बजारीकरणको अभियानमा साथ दिने बताए । गलकोट नगरपालिकाका कृषि अधिकृत हरिदत्त सुवेदीले किसानको मेहनतलाई प्राविधिक सहयोग गरेर सफल बनाउने बताए ।
गलकोट क्षेत्रका केही किसानले व्यक्तिगत रुपमा लगाएको किबीले राम्रो फसल दिएकाले यहाँको माटो किबीका लागि उर्वर रहेको मानिएको छ ।
खेतबारी र पाखोबारीका साथै किसानले वनमारा फँडानी गरेर खेतीयोग्य जमीन छेउका पखेरामासमेत बिरुवा लगाउने योजना बनाएका छन् ।