अर्थ

दुई अर्ब रुपैयाँ लगानीमा राष्ट्रिय खाद्य बैंक खुल्यो

काठमाडौं । निजी क्षेत्रको २ अर्बको लगानीमा राष्ट्रिय खाद्य बैंकको स्थापना भएको छ । कृषि पेशालाई मर्यादित र सम्मानित बनाएर राष्ट्रिय उत्पादन बढाउँदै देशलाई आत्मनिर्भर बनाउनका लागि बैंकको स्थापना भएको बताइएको छ ।

१५० भन्दा बढी कृषिबिज्ञहरुको सहभागितामा चार महिना अघि स्थापना भएको उक्त बैंकले अर्गानिक उत्पादनलाई पहिलो प्राथमिकता दिने जनाएको छ । बैंकसँग २ सय जनाभन्दा बढी कृषि प्राविधिक संलग्न रहेको पनि बैंकले जानकारी दिएको छ ।

कृषि क्षेत्रलाई आवश्यक पर्ने ज्ञान, सिप, बिउबिजन तथा मलजलको समुचित व्यवस्थापन गर्ने तथा दक्ष जनशक्ति विशेषज्ञ वैज्ञानिकको समेत सहभागितामा काम गर्ने बैंकले जनाएको छ ।

बैंक आफैंले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दहि, माछा, मासु, चिया, जडिबुटी लगायतको उत्पादन तथा व्यवस्थापन गर्ने बताएको छ । कृषि क्षेत्रमा आवश्यक अध्ययन अनुसन्धान गरी ठाउँअनुसारको बाली उत्पादनमा गर्ने प्रोत्साहन गर्ने पनि बैंकले जनाएको छ ।

कृषि उत्पादन बढाएर देशमा सबै खालका सर्वसाधाणलाई रोजगारी प्रदान गर्ने राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।

यस बैंक मार्फत विभिन्न क्षेत्रमा काम गरिरहेका मानिसहरुलाई कृषितर्फ ध्यान तान्ने उनको भनाइ छ । बेरोजगारी अन्त्य गरी अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने पनि अध्यक्ष उप्रेतीले बताए ।

कृषिलाई औद्योगिकीरण गर्ने र आफ्नो खेतीमा आफैँ बाली लगाउने वातावरण बनाउनका लागि बैंकको स्थापना भएको उनले जानकारी दिए ।

उनले राष्ट्रिय बैंकमार्फत काम गर्दा बिचौलिया अन्त्य हुने दावी गरे । यसबाट किसानहरुले उत्पादन गरेको बालीहरु बैंकमा बिक्री गर्न सक्ने तथा बैंकले उत्पादन भण्डारन प्रशोधन गरी सिधै उपभोक्तासँग बिक्री बितरण गर्ने बताए ।

यसका लागि इको सिस्टमलाई संरक्षण गर्दै गुणस्तरको खाद्यान्न, तरकारी, फलफूल, जडिबुटी, चिया, कफी, अलैंची लगायतको सामाग्रीहरुको उत्पादन बढाएर विदेशमा बिक्रीबितरण गर्ने बैंकले जनाएको छ ।

गुणस्तरीय खाद्य सामाग्रीको सुरक्षित भण्डार गरी बैंक मार्फत सेल्फ, डिपो र होम डेलिभरीहरु इ कमर्शबाट बिक्री बितरण गर्ने अध्यक्ष उप्रेतीले बताए । बैंकले आगामी बैशाखभित्र सबै प्रदेशमा कार्यालयको उद्घाटन गर्ने तयारी समेत गरिरहेको उनले जानकारी दिए ।

कृषि क्षेत्रमा उत्पादन बढाउँदै व्यवसाय विस्तार गर्दै अघि बढ्ने लक्ष्यसहित बैंकले देशका बिभिन्न क्षेत्रमा रहेको सरकारी जग्गा, सामुदायिक बनका खाली जग्गा,गुठी, व्यक्तिका जग्गा लिजमा लिएर उत्पादन गर्ने समेत उनले बताए ।

हाल बैंकले तराइका जिल्लाहरुमा कैलाली, कन्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लाहरुमा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्न गरिसकेको छ । किसानहरुसँग पनि सहकार्य गर्दै उत्पादन बढाउने बैंकले जनाएको छ ।

बैंकले पहिलो प्राथमिकता अन्नबाली र दोस्रो चरणमा माछा, मासु, फलफूल, दुध, तरकारीको उत्पादनलाई दिने बताइएको छ ।

उत्पादनमा लागेका कृषकहरुलाई आवश्यक पर्ने बिउ, मल, कृषि औजारहरु, प्राविधिक ज्ञान दिने र उत्पादित खाद्य बस्तुहरु बैंकले नै किनिदिने ग्यारेन्टी लिने पनि बैंकले जनाएको छ ।

बैंकमा हालसम्म ४ सय ९१ जना प्रमोटर शेयर सदस्य रहेका छन् । बैंकलाई थप बिस्तार गर्दै केही वर्षभित्रै साधारण सेयर समेत जारी गर्ने जानकारी दिएको छ ।

कृषि उत्पादनको लागि अल्पकालिन, दीर्घकालीन र मध्यकालीन योजना बनाएर अघि बढ्ने पनि बैंकका अध्यक्ष उप्रेतीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *