राजनीति

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्नः सूर्य थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने बताएका छन् । 

प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री राजीनामा मुख्य चासोको विषयमा बनिरहेका बेला सल्लाहकार थापाले मंगलबार साँझ सामाजिक सञ्‍जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने तर तत्काल राजीनामा नदिने बताएका हुन् ।

‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,’ थापाले लेखेका छन् ।

संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फेसलालाई विवादास्पद भन्दै थापाले यस का दुष्प्रभावहरु देखिँदै जाने र राजनीतिक समस्याहरु हल हुन नसक्ने र अस्थिरता अझ बढ्ने ठोकुवा गरेका छन् । 

‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ’, थापाको भनाइ छ । 

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि उक्त निर्णय मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *