पालिका खबर

काठमाडौं महानगरद्वारा ताम्राकार आगँछेँको पुन:निर्माण

  • काठमाडौं ।  काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले ताम्राकार आगँछेँ पुन:निर्माणको शिलान्यास गरेका छन् । आज बिहान मरुवुद्ध भगवान चोकमा आयोजना गरिएको कार्यक्रममा मेयर शाक्यले शिलान्यास गरेका हुन् । 

‘गुठीयारले धानेको परम्परालाई सरकार सहभागी भएर विस्तार गर्न लागेका हौं,’ शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा मेयर शाक्यले भने । सम्पदा बचाउन जनस्तरबाट आएका सबै माग महानगरले ग्रहण गरेर मर्मत, सम्भार र पुन:निर्माणका लगानी गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा महानगरको नीति र वडाको अगुवाईमा योजना कार्यान्वयन गरिएको बताउँदै वडाध्यक्ष राजेन्द्र मानन्धरले भने, ‘वडा २० मा धेरै सम्पदा छन् । तिनीहरुलाई जोगाउने कामलाई वडाले पहिलो प्राथमिक कामका रुपमा अघि बढाएको छ ।’ 

सात सय ५.४ बर्गफिट क्षेत्रफलमा निर्माण हुने आगँछेँ तीन तलाको हुनेछ । आगँछेँमा शक्ति (महिला र पुरुष आलिङ्गन गरिरहेको देवताको मूर्ति) लाई मुल देवताका रुपमा पुज्ने गरिन्छ ।

यहाँ भगवान चोक आसपास बस्ने १८ परिवार ताम्राकारहरुले नित्य पूजा र दशैंमा विशेष पूजा गर्ने गरेका छन् । यस्तै परिवारका सदस्यहरुको जन्म दिनमा पनि पूजा आराधना गरिन्छ ।

आगँछेँमा कुमारी, गणेशलगायतका देवताको मूर्ति पनि रहनेछन् । भैरवको मूर्तिलाई भने पारङ्गतले मात्र हेर्न पाउने व्यवस्था छ । यहाँ हुने सबै पूजा गुप्त रुपमा गरिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *