राजनीति

प्रतिनिधिसभा पुनःस्थापनाले लोकतन्त्र दिगो हुन्छ: लयर्स एशोसिएशन

काठमाडौं । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनःस्थापनाको फैसलाबाट देशमा लोकतन्त्र दिगो हुने जनाएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एशोसिएशनले संवैधानिक इजलासबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र पारम्भतः कानूनी प्रभाव शून्य घोषित गरी संसद् पुनःस्थापना तथा १३ दिनभित्र अधिवेशन बोलाउने गरी गरेको आदेशले गलत दिशामा मोडिएको संविधान र राजनीतिलाई सही दिशातर्फ उन्मुख गरेको उल्लेख गरेको छ ।

‘सर्वोच्चको फैसलाले नेपालमा संविधानवाद, विधिको शासन र लोकतन्त्रको दिगो विकास तथा प्रवद्र्धनमा दूरगामी महत्वको योगदान पुगेको छ’, एशोसिएशनका महासचिव लक्ष्मीदेवी दाहाल रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन अनाधिकार, गैरसंवैधानिक र गैरसंसदीय कदम भएको ठहरका साथ एशोसिएशनले तत्कालै आफ्नो धारणा सार्वजनिक गरेको उल्लेख छ ।

‘यस ऐतिहासिक फैसलाले न्यायपालिकालाई एक पटक पुनः नेपाल र नेपालीको आशाको केन्द्रका रुपमा स्थापित गरेको छ । हामी सबै न्याय तथा कानूनकर्मीको शिर उँचो बनाएको छ । यो कसैको जय वा पराजयको विषय नभई न्याय, विवेक र सत्यको विजय हो’, विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा संविधानको पालना र संरक्षणमा कटिबद्ध हुने विवेक, प्रेरणा र शक्ति प्रदान गरोस् भन्ने समेत एशोसिएशनले शुभकामना दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *