राजनीति

प्रधानमन्त्रीले राजीनामा दिदा राम्रो: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिदा राम्रो हुने बताएका छन् ।

बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति: आजको सन्दर्भमा’विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पुर्‍याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताएका हुन् । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले दबाव नदिने बताए ।

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताए । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढिकरण गर्ने मौका मिलेको बताए ।

उनले भने, ‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरी संसदीय व्यवस्थालाई सुदृढिकरण गर्ने मौका मिलेको छ । मलाई विश्वास छ, ओलीले अदालतको निर्णयपछाडि की त आफ्नो बहुमत पुर्‍याउनु पर्‍यो संसदमा, होइन भने छोड्दा राम्रो हुन्छ। तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरुको पार्टीको कुरा हो ।’

सभापति देउवाले नेपाली कांग्रेसप्रति आर्कषण बढेको पनि बताए । कांग्रेसले केही गर्दैन भनेर जनताले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको बताए ।

उनले भने, ‘कांग्रेसले केही गर्दैन भनेर जनताले हराए भोट दिएनन् । अहिले कांग्रेस चाहियो भन्नुपरेको छ । कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली जनता, बुद्धिजिवी, पत्रकार जगत सबैलाई धन्यवाद छ । कांग्रेसप्रति आकर्षण बढेको बुझेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *