पालिका खबर

पाचोक गाउँमा पहिलोपटक पुग्यो बिजुली

लमजुङ । दोर्दी गाउँपालिका-५ पाचोक गाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारका भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक बिजुली पुर्याएको हो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकका घरमा बिजुली पुर्याइने जानकारी दिए ।

उनले गाउँमा ‘एक घर एक धारा’ छिट्टै निर्माण गरिने बताए । नेकपा गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडी, तत्कालीन संविधानसभा सदस्य जमिन्द्रमान घले, गाउँपालिका अध्यक्ष ओमलाल गुरुङ, वडाध्यक्ष फत्तबहादुर गुरुङ, प्राधिकरण वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङ र स्थानीय अगुवा शेरबहादुर तामाङले पूर्वाधार विकासमा जोड दिएका थिए ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याएको थियो ।

यहाँका ६५ घरमा बिजुली बलेको छ । यसअघि टुकी र सोलारका भरमा बस्नुपर्दा बिरामी हुँदा तथा बालबालिकाको पठनपाठनमा समस्या हुनेदेखि मोबाइल चार्जिङ गर्नसमेत समस्या हुँदै आए पनि अब भने समाधान भएको वडाध्यक्ष गुरुङको भनाइ छ । गाउँमा पहिलो पटक बिजुली पुग्दा स्थानीयवासी हर्षित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *