मनोरञ्जन

विवाह मेरो लागि अपरिहार्य होइनः नायिका विश्वकर्मा

काठमाडौं । रियालिटी शो ‘नेपाल आइडल र कमेडी च्याम्पियन’ पछि रीमा विश्वकर्मालाई अभिनेत्री वा मोडलभन्दा उद्घोषकको रुपमा चिन्ने दर्शक धेरै छन् ।

एक दशक अगाडि फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले आजसम्म फिल्मबाट हिटको सुख प्राप्त गर्न सकेकी छैनन् । जुन सफलताको सुख उनलाई ‘नेपाल आइडल र कमेडी च्याम्पियन’ ले उद्घोषकको रुपमा दियो ।

पछिल्लो पटक अभिनेता भुवन केसीसँग फिल्म ‘मिस्टर नेपाली’ मा काम गरेकी उनी चाँडै आफ्नै समुह (विशाल भण्डारी र केकी अधिकारी) ले निर्माण गरेको ‘कमेडी च्याम्पियन’ को दोस्रो सिजनमा उद्घोषकको रुपमा देखिँदैछिन् ।

युवापुस्ताको एउटा समूह उनलाई हेर्नकै लागि पनि टिभी अगाडि बस्ने गरेको छ । जबकि, फिल्मबाट उनले यसप्रकारको क्रेज बनाउन सकेकी थिइनन् ।

जब उनलाई करिअरमा सफलता मिल्दै थियो, तब उनले एउटा कठिन समयको सामना गर्नुपर्‍यो । २०७२ सालमा उनले रोवर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् । तर, उनीहरुको विवाह दुई वर्षमा नै टुट्यो ।

यसपछि विवाहको विषयमा मौन रहँदै आएकी रीमाले अब बिहेको कुरा गर्ने बेला भइसकेको बताएकी छन् । तर, विवाह आफ्ना लागि अपरिहार्य नरहेको उनको भनाइ छ ।

बुधवार राजधानीमा आयोजित ‘कमेडी च्याम्पियन २’ को घोषणा कार्यक्रममा ‘बिहे कहिले गर्ने’ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘जब मलाई बिहे गर्नुपर्छ भन्ने लाग्छ तब गर्छु । तर, मैले एकचोटी बिहे गरेर थाहा पाइसकेँ । अब मेरो लागि विवाह अपरिहार्य होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *