स्थानिय खबर

चाडपर्वलाई लक्ष्य गरी बजार अनुगमन तीव्र पारिने

काठमाडौं । उपत्यकामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिइने भएको छ ।

चाडपर्व नजिकिंदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासनले अनुगमनलाई तीव्रता दिने भएका हुन् ।

सञ्चार केन्द्र नेपालले आयोजना गरेको उपत्यकाको बजार अनुगमन र सुरक्षा व्यवस्था विषयक अन्तरक्रियामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चाडपर्व केन्द्रीत अनुगमनलाई चाँडै नै शुरु गरिने जानकारी दिए ।

उनले बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्रता दिइने बताए ।

प्रजिअ दाहालले तीनै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहेको अनुगमन समिति समेत गठन गरिएको जानकारी दिए । उनका अनुसार खाद्यान्न, लत्ताकपडा र यात्रामा एक÷एक सहायक प्रजिअलाई जिम्मेवारी दिएर अनुगमन गरिने छ ।

कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अहिलेदेखि नै बजार अनुगमन गर्नका लागि चार टोली पठाइसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *