पालिका खबर

शान्ति स्थापनामा सशस्त्र प्रहरी बलको फर्म्ड पुलिस युनिट सर्वोत्कृष्ट

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ विभिन्न देशका युनिटहरु मध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट (एफ.पि.यु.–१) सर्वोकृष्ट ठहरिएको छ ।

अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मुल्यांकन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफ.पि.यु. मध्ये राजधानी जुवामा तैनाथ नेपाल एफ.पि.यु.–१ लाई सर्वोकृष्ट युनिट घोषणा गरेको हो ।

उक्त समितिले तयार पारेको कार्य सम्पादन परीक्षण तथा मुल्यांकनमा प्रतिवेदनमा नेपाल एफ.पि.यु.ले सतप्रतिसत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोत्कृष्ट हुन सफल भएको सो युनिटका कमाण्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेले बताए ।

मिशनमा तैनाथ एफ.पि.यु.हरुबीच मिशन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एण्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेशनल रेडिनेश र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी विद्यामा मूल्यांकन गरी उत्कृष्ट युनिट छनौट हुने हो ।

१८ फेब्रुअरी सन् २०२१ मा लिइएको उक्त परीक्षण तथा मुल्यांकनमा नेपाल एफ.पि.यु–१ सतप्रतिशत अंक ल्याएर सर्वाेत्कृष्ट घोषित भएको हो ।सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेले नेतृत्व गरिरहेको उक्त डप्फामा डिपुटि कमाण्डिङ अफिसर सशस्त्र प्रहरी नायव उपरीक्षक शिवप्रसाद गैरै, चिफ लजिष्टिक अफिसर सशस्त्र प्रहरी नायव उपरीक्षक रामजंग पाण्डे र चिफ अप्रेशन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण कुमार शर्मा रहेका छन ।

उक्त एफ.पि.यु.मा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन ।

शान्ति प्रक्रिया सातौँ डप्फाको रुपमा सन २०२० को फेब्रुअरी ९ मा सुडानमा तैनाथ सशस्त्र प्रहरी बल, नेपालको उक्त टोलीले कोराना कहरको समयमा समेत बिचलित नभई आफुलाई प्राप्त जिम्मेवारीहरुलाई उत्कृष्ट रुपमा निर्वाह गरेको तथा कमाण्ड स्टाफ र सकल दर्जाका कर्मचारीहरुको अथक मेहनतका कारण पनि अन्य एफ.पि.यु.हरुलाई पछि पार्न सफल भएको कमाण्डिङ अफिसर न्यौपाने बताउँछन् ।

हाल दक्षिण सुडानमा रहेका एफ.पि.यु.हरुमा नेपालको तर्फबाट दुई वटा, रुवन्डाको तीन वटा र घानाको एक गरी जम्मा ६ वटा एफ.पि.यु.हरु कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *