तनहुँ । व्यास नगरपालिका-४ स्थित होटल स:स: इनमा गए राति अन्दाजी २:०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।
सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उनले बताए ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ ।