स्वास्थ्य

दोस्रो चरणको खोप अभियानको तयारी अन्तिम चरणमा

काठमाडौं । काेराेनाविरूद्ध दोस्रो चरणको खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ फागुनबाट दोस्रो प्राथमिकतामा परेका ५५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । खोप अभियान दुई चरणमा गरी २० दिन सञ्चालन हुनेछ । पहिलो चरणमा ६५ वर्ष माथि उमेर समूहका नागरिकलाई खोप लगाइने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

पहिलो १० दिनमा ६५ वर्ष माथिकालाई लगाएपछि मात्र अर्को १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने मन्त्रालयले जनाएको छ । प्रत्येक स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्र एवं अस्पताल गरेर देशभर ६ हजारभन्दा बढी खोप केन्द्र रहने खोप शाखाका प्रमुख डा.झलक शर्माले बताएका छन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले सबै प्रदेशमा खोप पठाइसकेको पनि जनाएको छ ।

दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष उमेर माथिका सबै नागरिकलाई कोभिड १९ रोग विरुद्दको खोप दिइने छ । यसका साथै शिक्षक तथा कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकलाई समेत खोप दिइने छ । विशेषगरी ५५ वर्ष माथिका र दीर्घरोगीलाई सरकारले प्राथमिकतामा राखेकोे छ । यो खोप अनिवार्य लगाउन डाक्टरले सुझाएका छन् ।

विभिन्न देशमा गरिएका अनुसन्धान तथा परीक्षणमा दीर्घरोगीलाई कुनै किसिमको समस्या नदेखिएको र खोप सुरक्षित रहेको डाक्टर विश्वराज दवाडीले बताएका छन् । १६ वर्ष मुनिका बालबालिका र गर्भवती महिला बाहेक अन्यले खोप लगाउन जरुरी रहेको डा.दवाडी बताउँछन् । खोप लगाइसकेपछि सामान्य लक्षण देखिनसक्ने भएकाले त्यसको लागि आराम गर्ने, ज्वरो आएमा सिटामोल खाने, खोप लगाएको ठाउँमा सामान्य दुखाई हुनसक्ने भएकाले आत्तिनु नपर्ने डा. दवाडीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *