काठमाडौं- नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिर खुलेको छ ।
बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको हो ।
लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ ।
चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय ताेकिएकाे छ ।
सबै पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुने र लिखित परीक्षा र परीक्षा केन्द्र सम्बन्धी सूचना पछि प्रकाशित गरिने बैंकले जनाएको छ ।
तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।
बैंकको वहालवाला स्थायी कर्मचारीलाई उल्लेखित उमेरको हद नलाग्ने सूचनामा उल्लेख छ ।
फाराम नेपाल बैंक लिमिटेडको वेवसाइटबाट भर्न सकिन्छ ।