काठमाडौं । दोस्रो चरणको खोप अभियान सुरु भएकै दिन कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोप काठमाडौं आइपुगेको हो ।
खोप भित्रिएको पुष्टि गर्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा कोभ्याक्सको कोभिडविरुद्धको खोप आइपुगेकोमा धेरै खुसी लागेको उल्लेख गरेकी छन् ।
बेलायत सरकारले खोपलाई नेपालीसम्म पुर्याउन सहयोग गर्दैआएको र खोपको पहुँच सबै नेपालीलाई हुन जरुरी रहेको उनले बताएकी छन् । उनले भनेकी छन्, ‘बेलायतमा बनेको खोप भएकोले थप खुसी लागेको छ ।’
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो । चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।