राजनीति

यसवर्ष मनसुन सुरु भएदेखि प्राकृतिक विपत्तिबाट गण्डकी प्रदेशमा १२६ जनाको मृत्यु

कास्की । यस वर्ष मनसुन सुरु भएदेखि प्राकृतिक विपद्बाट गण्डकी प्रदेशमा धेरै जनधनको क्षति भएको छ।

नेपालमा गत जेठ २७ गतेदेखि मनसुन सुरु भएको हो। त्यसयता असोज ९ गतेसम्म बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्मा परेर यो प्रदेशमा १२६ जनाले ज्यान गुमाएका छन् भने २३ बेपत्ता छन्। विपद्मा परेर ८९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार प्राकृतिक विपद्मा परेर मृत्यु हुनेमध्ये पुरुष ४४, महिला ४०, बालिका २३ र बालक १९ छन्। त्यस्तै बेपत्तामध्ये नौ जना बालबालिका छन् भने घाइतेमध्ये पुरुष ४३, महिला २९, बालिका सात र बालक १० छन्।

मनाङ बाहेकका सबै जिल्लामा बाढी, पहिरोलगायत प्राकृतिक विपद्जन्य घटनामा परी ठूलो जनधनको क्षति भएको छ। सबैभन्दा बढी बाग्लुङमा ३६ जनाको मृत्यु भएको छ। तीमध्ये १५ महिला, १२ पुरुष, तीन बालिका तथा छ बालक छन्।

त्यस्तै प्राकृतिक विपद्मा परेर म्याग्दीमा सात महिला, नौ पुरुष, नौ बालिका र छ बालक गरी कूल ३१ जनाले ज्यान गुमाएका छन्। स्याङ्जामा पाँच महिला, नौ पुरुष र एक बालक गरी कूल १५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए।

त्यसैगरी सो अवधिमा प्राकृतिक विपद्मा परेर तनहुँमा पाँच महिला, पाँच पुरुष र तीन बालिका गरी कूल १३ जना, कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कूल ११, पर्वतमा दुई महिला, एक पुरुष, पाँच बालिका र एक बालक गरी कूल १० जनाको मृत्यु भएको छ ।

लमजुङमा एक महिला, दुई पुरुष र एक बालक गरी कूल चार, गोर्खामा एक महिला तथा दुई पुरुष गरी कूल चार, नवलपरासीमा एक महिला तथा एक पुरुष गरी कूल दुई जना र मुस्ताङमा एक पुरुषको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म २३ जना बेपत्ता रहेकोमध्ये बाग्लुङका १६, म्याग्दीका पाँच, स्याङ्जा र गोरखाका एक/एक जना छन्। नौ महिला र पाँच पुरुष बेपत्ता छन्।

 प्रदेशका १० वटै जिल्लामा गरी हालसम्म एक हजार ६१५ परिवारका छ हजार ७७३ जना विस्थापित भएका छन् भने ९७० घर जोखिममा रहेको बताइएको छ। म्याग्दीमा सबैभन्दा बढी ७१७ घरका तीन हजार १२५ जना विस्थापित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *