पालिका खबर

खुवालुङ फोर्ने अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउनुपर्छ: राजन मुकारुङ

काठमाडौं । लेखक राजन मुकारुङले प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोशी नदीस्थित खुवालुङलाई फोर्ने सन्दर्भमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राखेका छन् ।

मुकारुङले तमोर, अरुण र दूधकोशीको संगमस्थलमा रहेको खुवालुङ किरात समुदायको साँस्कृतिक स्थल रहेकाले यसलाई फोर्नुपर्छ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति विवादास्पद रहेकाले उक्त अभिव्यक्ति सच्याउनुपर्ने माग राखेका हुन् ।

१६ फागुनमा गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा निर्माण हुने ‘नेपाल-चीनमैत्री औद्योगिक पार्क’को शिलान्यास कार्यक्रममा बोल्दै सप्तकोशी नदीमा जहाज चलाउनका लागि खुवालुङ फुटाउने सरकारको तयारी रहेको बताएका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि किरात समुदायको साँस्कृतिक धरोहर खवालुङ ढुंगा फुटाउने सरकारी कदमको विरोधमा २३ गते खुवालुङ पुगेर बृहत् नागरिक आन्दोलन, आदिवासी जनजाति साहित्यकार महासंघ तथा सम्पदा संरक्षणकर्मीले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका थिए ।

खुवालुङ बचाउनुपर्ने पक्षमा निरन्तर आवाज उठाउँदै आएका लेखक मुकारुङले बुधबार सामाजिक सञ्जाल फेसबुकमा समेत यसबारे लेखेका छन् ।

‘राज्यका कार्यकारी प्रमुखबाट आएको खुवालुङ फोर्ने अभिव्यक्ति सच्याउनै पर्दछ । उक्त अभिव्यक्तिले आम समुदायमा पर्न गएको चोटप्रति क्षमायाचना गर्नैपर्दछ । खासखुस रूपमा कुरो मिलाउँदै फोटो टाँस्ने पाराले राज्य पक्षको हेपाहा प्रवृत्तिलाई नै बलियो बनाउँछ । त्यसैले यस्ता खासखुसे पाराको पनि जोडदार विरोध गरौं १’ मुकारुङले लेखेका छन् ।

उनले खुवालुङ बचाउ अभियानमा साथ दिने आदिवासी जनजाति साहित्यकार महासंघ (किरात राज्य समिति, लिम्बुवान राज्य समिति), किरात राई लेखक संघ, याक्थुङ लेखक संघ, फरक आयाम, लिम्बुवान स्प्रीङ आन्दोलन, किरात राई विद्यार्थी संघ, खुवालुङ संरक्षण समिति, रङ्गभूमि एकेडेमीका सदस्य, कवि साथै बृहत् नागरिक आन्दोलनकर्मीलगायत सम्पूर्ण सामाजिक न्यायका लागि सचेत स्थानीयमा कृतज्ञता व्यक्त गरेका छन् ।

‘हाम्रो आन्दोलन उचाइका साथ अघि बढिरहेको छ । तर, जातीय संस्थाका नाममा केही नेतृत्वहरूले राजनीतिक दासकै पाराले गरिरहेका कतिपय गतिविधि र तिनबाट आएका अभिव्यक्तिहरूप्रति हामी घोर भत्सर्ना गर्दछौं र यस्ता गतिविधिहरूका कारण हुनसक्ने कुनै पनि उपलब्धिविहीन सम्झौताहरू विरुद्ध खबरदारी गर्दै सबैमा सचेतताको लागि अनुरोध गर्दर्छौं,’ मुकारुङले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *