अर्थ

पेप्सीकोला-सल्लाघारी सडक ५५ प्रतिशत सम्पन्न

काठमाडौं । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ । चालू आवसम्म कालोपत्र सक्ने गरी सो सडकको उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ ।

स्थानीयवासीले जग्गाको समेत मुआब्जा माग गरेर लामो समयसम्म पनि निर्माण अघि बढाउन नदिएकाले अवधि सकिँदा पनि सम्पन्न नभएको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ ।

बीस मिटर चौडाइ कायम गर्ने गरी तीन वर्ष पहिले ठेक्का सम्झौता भए पनि त्यसअनुसार सडक खाली गराउन नसकिएको आयोजनाका सूचना अधिकरी लक्ष्मण देवकोटाले बताए ।

बहाखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने थियो । काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणले सडक खाली गराउनुपर्ने भए पनि खाली गराउन सकेको थिएन ।

निर्माणस्थल खाली नभएकै कारण लामो समयसम्म अवरुद्ध भए पनि गत वर्ष उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयानुसार सडक कालोपत्र भइरहेको छ ।

लामो समयसम्म चौडाइ विवादका कारण निर्माण अवरुद्ध भएकामा सरकारले गत वर्ष बिस्तारका क्रममा रहेका सबै सडक उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा काम अघि बढिरहँदा गत आवमा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसपछि निर्माण सामग्रीको अभाव रहेको थियो ।

चार दशमलव पाँच किलोमिटर लम्बाइको सो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो । सडकको ठेक्का सम्झौता अवधि गत पुसमा सकिएको थियो । उक्त सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभीले लिएको थियो ।

काठमाडौँ उपत्यकामा आयोजनाले नौ सडक विस्तारको काम शुरु गरे पनि अहिलेसम्म कुनै पनि सडक सम्पन्न भइसकेका छैनन् ।

काठमाडौँमा तीन र ललितपुरमा पाँच तथा भक्तपुरको एउटा सडक बिस्तार शुरु गरिएको थियो । अहिले भएका सडक सम्पन्न नभएकाले सडक विभागले थप सडकमा बिस्तारको योजना बनाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *