पालिका खबर

खुवालुङ संरक्षण अभियन्तालाई तत्काल रिहा गर्न माग

काठमाडौं । प्रहरीले पक्राउ गरेका खुवालुङ संरक्षण अभियानका दिनेश काम्दुङ खुम्बु र साजन राईलाई रिहा गर्न खुवालुङ संरक्षण क्षेत्र समिति र किराँत राई विद्यार्थी संघले माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिनेश र साजन २७ फागुनमा पक्राउ गरेको थियो ।

छलफलका लागि भन्दै प्रहरीले बराह क्षेत्र नगरपालिका वडा नं १ का अध्यक्ष शुरेष श्रेष्ठलाई पनि बोलाएको छ । समितिकी सचिव दिला राईले बिहीबार एक विज्ञप्ति जारी गरी निदेश र साजनलाई विनासर्त २४ घण्टाभित्रमा रिहाइ गर्न प्रहरी प्रशासनलाई अल्टिमेटम समेत दिएकी छन् ।

अभियान्ताहरूलाई २४ घण्टाभित्रमा रिहाइ नगरे खुवालुङ संरक्षणका पक्षधर विभिन्न संघसंस्थाहरूले निर्णायक आन्दोलन गर्ने र सोबाट हुन सक्ने क्षति राज्य प्रशासनले लिनुपर्ने चेतावनी पनि दिइएको छ ।

जेटबोट सञ्चालकहरूले अरुण, तमोर र दुधकोशीको त्रिवेणीमा रहेको खुवालुङ क्षेत्रमा जेटबोट लैजान नमान्दा जेटबोट सञ्चालक र दिनेशबीच सामान्य विवाद भएको थियो । सोही विवादका आधारमा प्रहरीले दिनेश र साजनलाई पक्राउ गरेको हो । छलफलका लागि भन्दै बोलाएपनि प्रहरीले पक्राउ गरेको भन्दै समितिले आपत्ति जनाएको छ ।

‘दिनेश काम्दुङ राई (खम्बु) र अभियान्ता साजन राईलाई छलफल गर्न भनी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा बोलाइ माथिको आदेश भन्दै छलफल गराउनुको सट्टा हिरासतमा राखी मुद्दाको प्रक्रिया अघि बढाएकोप्रति खुवालुङ क्षेत्र संरक्षण समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘उक्त विषयलाई सहज समाधान गर्नुको सट्टा विषयान्तर गरी सुनियोजित रूपमा षडयन्त्रमूलक ढंगबाट अभियानकर्मीहरूलाई राज्य प्रशासनले विभेदपूर्ण ढंगबाट पक्राउ गरिएको यस घटना हामी सम्पूर्ण सरोकारवाला पक्षका लागि कुनै पनि हिसाबले स्वीकार्य छैन । यस किसिमको रबैयाप्रति खेद् व्यक्त गर्दछौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ८ गते विराटनगरमा आयोजित आमसभामा खुवालुङ फुटाएर जेटबोट चलाउने उद्घोष गरेका थिए । किराँतहरूको सांस्कृतिक र मिथ जोडिएको खुवालुङ ढुंगा फुटाउने घोषणा गरेपछि किरातहरु आन्दोलित भएका थिए ।

किराँत सभ्यता र मुन्दुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । वराह क्षेत्र नजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *