पालिका खबर

असिना पानीले नवलपुरमा दुई करोडको इँटा नष्ट

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा असिना पानीका कारण करीब रु दुई करोड बराबरको इँटा नष्ट भएको छ । गत बुधबार साँझ परेको असिनासहितको पानीले नवलपुरमा रहेको इँटा उद्योगमा रु एक करोड ८० बराबरको क्षति पुगेको छ ।

हावाहुरी, पानी र असिना परेका कारण पोल्ने अवस्थामा तयारी रहेका काँचा इँटामा क्षति भएको नवलपुर इँटा सङ्घका सचिव कृष्ण गौतमले जानकारी दिए ।

नवलपुरमा अहिले आठ इँटा उद्योग सञ्चालनमा छन् । सबै इँटा उद्योगमा गरेर पोल्नका लागि तयारी अवस्थामा रहेका ४० लाख काँचो इँटा नष्ट भएको उनले बताए ।

‘हावाहुरीले चाङ पल्टाउने र पानी आउने एकैसाथ हुँदा क्षति बढी भयो’, केसी इँटा उद्योग कावासोतीका सञ्चालक अशोक केसीले भने, ‘पानीले गलाउथ्यो, अझ असिनाले त काँचो इँटामा प्वाल पारेर धेरै क्षति भयो ।’

जिल्लाका इँटा उद्योग रहेको स्थानको भू-बनावटका कारण बढी क्षति हुने गरेको नवलपुर इँटा सङ्घका सचिव गौतमले बताए । सबै इँटा उद्योगमा पानी जम्ने समस्याका कारण एक्कासी आउने पानीले बढी क्षति हुने गरेको उनले बताए ।

पोल्ने अवस्थामा तयरी रहेका काँचो इँटा नष्ट हुँदा वर्षेनी इँटा व्यवसायीले ठूलो क्षति भोग्नुपरेको उनले बताए ।

नवलपुरमा नारायणी इँटा उद्योग, माता मनकामना इँटा उद्योग, केसी इँटा उद्योग, नेपाल इँटा उद्योग, कावासोती इँटा उद्योग, देवचुली इँटा उद्योग, मनोकामना इँटा उद्योग र कावा इँटा उद्योग सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *