स्वास्थ्य

खोप लगाएका ज्येष्ठ नागरिक भन्छन्-अब त धेरै बाँचिन्छ

गलकोट । नेपालमा कोरोनाको महामारी सुरु भएपछि सबैभन्दा जोखिममा ज्येष्ठ नागरिक थिए । कोभिडको भयावह चलिरहेका बेला ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना भाइरस संक्रमणको खतरा रहेको भन्दै विशेष ख्याल गर्न आग्रह गरिएको समाचार दैनिकजसो आउँथ्यो । कोरोना रआफूहरुलाई छिटो सर्ने र ज्यानसमेत लिने समाचार सुनेर केही हतास बनेकी काठेखोला गाउँपालिका–३ निवासी श्यामकुमारी विश्वकर्मा अहिले ढुक्क भएकी छन् ।

उनले धौलागिरि अस्पताल बागलुङको खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाइन् । ‘हामी जस्ता बूढेसकाल लागेकालाई कोरोनाले चाँडै लान्छ कि भन्ने थियो, खोप लगाएपछि अझै केही वर्ष संसार देख्न पाइन्छ कि भन्ने लागेको छ’, खोप लगाएपछि प्रशन्न मुद्रामा विश्वकर्माले भनिन्, ‘रेडियोमा भर्खरका उमेरका युवासमेत कोरोनाका कारण मृत्यु भएको सुन्दा हामी जस्ता ७५ काटेकालाई के राख्ला भन्ने थियो, अहिले कोरोना विरुद्धकै खोप आएर लगाइयो पनि, अब कोरोनाबाट बच्ने भइयो भन्ने आश पलाएको छ ।’

बागलुङ नगरपालिका–४ का ७१ वर्षीय खडानन्द उपाध्याय, वडा नं ३ का ७५ वर्षीय खिमप्रसाद सिलवाल तथा वडा नं १० भकुण्डे निवासी ७० वर्षीया इन्द्रकुमारी पौडेलको कोरोना खोप अनुभव पनि उस्तै छ । डाँडामाथिका घाम जस्ता बनेका उनीहरुले कोरोना खोप लगाउन पाउँदा खुशी भएका मात्रै छैनन्, केही वर्ष अझै बाँच्ने आशा पलाएको बताउँछन् । ‘१० महिनासम्म कोरोनाका विषयमा सुन्दा मरिन्छ कि भन्ने थियो’, सिलवालले भने, ‘कोरोना खोप लगाएपछि कोरोना लाग्दैन भन्ने आत्मबल उच्च हुँदोरहेछ, अलि वर्ष बाँच्न पाइने भयो भनेर ढुक्क छु ।’ उनले महामारीको रूपमा रहेको कोरोना खोप लगाउन पाउँदा निकै खुशी भएको बताए ।

कोरोनाका कारण मरिन्छ कि भनेर लागेको डर कोरोना खोप लगाएपछि हटेर गएको भकुण्डे निवासी पौडेलले बताइन् । ‘दीर्घरोगी र हामी जस्तालाई कोरोनाले छोड्दैन भन्ने सुन्दै आएका कारण घरभन्दा बाहिर जान पनि डर थियो’, पौडेलले भनिन्, ‘खोप लगाएपछि केही ढुक्क भयो, अब अरुनै कारणले मरिएला, कोरोनाले चाँही नमर्ने भइयो ।’ पौडेलले आफूजस्ता ज्येष्ठ नागरिकलाई कोरोना खोपले हदैसम्म राहत मिलेको बताइन् ।

धौलागिरि अस्पतालको कोरोना खोप केन्द्रमा अहिले ज्येष्ठ नागरिक उत्साहका साथ खोप लगाउन आइरहेका छन् । बागलुङमा अहिले ६२ स्थानबाट कोरोना विरुद्धको खोप प्रदान गरिएको छ । नेपालमा कोरोना भित्रिएको ११ महिना पूरा पुग्दा खोप अभियान दोस्रो चरणमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *