राजनीति

प्रवासी नेपालीले रोजगारी गुमाएको विषयमा संसदमा पेश गरियो सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा.डिला संग्रौलाले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वव्यापी कोरोना महामारीका कारण नेपाली श्रमिकहरूले विदेशमा रोजगारी गुमाएको विषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन् ।

‘दसौं हजार नेपाली युवा स्वदेश फर्कीसकेका छन् । तर उनीहरुको पुनर्स्थापन तथा रोजगारीका लागि सरकारले कुनै पहल गरेको छैन । उल्टो उद्धारका नाममा महंगो चार्टर्ड उडानहरु गरेर कमिशनमा लिप्त रहेको आरोप सरकारमाथि लागेको छ । कोरोनाको मानवीय पाटो पनि त्यत्तिकै कहालीलाग्दो छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा क्रममा विभिन्न कारणले निधन भएकामध्ये १ सय ७३ श्रमिकको सम्बन्धित मुलुकमा नै अन्त्येष्टि गरिएको छ,’ प्रस्तावमा उल्लेख छ, ‘उनीहरुका परिवारले आफ्नो प्रियजनको मुख पनि हेर्न पाएनन् । कोभिड-१९ ले गर्दा महिलाहरु बढी प्रभावित भएका छन् । उनीहरुले रोजगारी गुमाएका कारण हजारौं परिवार गरिबीको रेखा मुनि पुगेका छन् । बालबालिकाले गुणस्तरीय शिक्षा नपाउने र बाल विवाह बढेर गएको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएका छन् ।’

रोजगारीको हक सम्बन्धि ऐन ०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गर्ने भने पनि ती केन्द्रले कसरी काम गर्नेहुन् भन्ने स्पष्ट नभएबारे पनि प्रस्तावमा उल्लेख गरिएको छ ।

‘त्यसैले वैदेशिक रोजगारी क्षेत्रमा विद्यमान बेथितिलाई अन्त्य गरी सम्मानित तथा न्यायपूर्ण रोजगारीको वातावरण तयार गर्न तत्काल कदम चल्नु पर्ने आवश्यकता छ । वैदेशिक रोजगार गुमाएर स्वदेश फर्केका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको लागि प्राथमिकताका आधारमा रोजगारी सिर्जना, तालिम, सहुलियतयुक्त ऋण तथा बजारसमेत सुनिश्चित गर्न एउटा स्पष्ट मार्गचित्र बनाउन सरकारलाई झकझक्याउन संसदले पहल गर्न अत्यावश्यक भएकाले यो प्रस्ताव ल्याइएको हो,’ देवप्रसाद तिमल्सिना र रंगमति शाही समर्थक रहेको प्रस्तावमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *