राजनीति

संविधान र लोकतन्त्र रक्षाका लागि सबै दलबीचको सहकार्य आवश्यक: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यको आवश्यकता रहेको बताएकी छन् ।

मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको पनि धारणा राखिन् ।

‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रही आएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ’ राष्ट्रपति भण्डारीको भनाइ उधृत गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले नेपालको अतिक्रमित भूभाग सामेल गरी गत जेठमा नयाँ रजनीतिक नक्सा प्रकाशन गर्न राजनीतिक दलहरुले अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, एमाले महासचिव ईश्वर पोखरेल, वरिष्ठ नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा.शशांक कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जनकराज शर्मा र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *