काठमाडौं । नेपाल प्रहरीले एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गंगा पन्तले उच्च अदालत पाटनको विसं २०७७ माघ ५ को फैसलापछि एक महिना कैद र बिगोबमोजिम एक करोड ८५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका ढुंगानालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका ढुंगानाले आफ्नो प्रभु बैंक लिमिटेड सुकेधाराको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले ढुंगानालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।
पक्राउ परेका ढुंगानालाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता पन्तले बताए ।