काठमाडौं । नेपाली कांंग्रेसकी नेतृ सुजाता कोइरालाले लुम्बिनीको बृहत्तर विकासका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चासो राखेको बताएकी छन् ।
कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा लुम्बिनी मायादेवी मन्दिर परिसरमा जि.पी फाउण्डेसन रुपन्देहीले आयोजना गरेको दिप प्रज्वलनको अवसरमा उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘धार्मिक तथा पर्यटनको प्रचुर सम्भावना बोकेको लुम्बिनीलाई विशेष महत्वका साथ गिरिजाबाबुले हेरेका थिए, गिरिजाबाबुको लुम्बिनीसँग विशेष र महत्वपूर्ण सम्बन्ध थियो।’
उनले थपिन्, ‘लुम्बिनीलाई अन्तर्राष्टि«य आर्कषणको केन्द्र बनाउन गिरिजाबाबु सधैं क्रियाशिल रहेका थिए ।’
संसारभरि बौद्द गुरुमार्फत सन्देश फैलियोस् भन्ने ध्येयले विश्व सम्मेलन गर्न स्थानीय समितिलाई गिरिजाबाबुले निर्देशन दिएको पनि नेतृ कोइरालाले स्मरण गरिन् ।
उनले उक्त सम्मेलन सन् २००१ मा उद्घाटन गरिएको र साथै बृहत लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्न लागि गिरिजाबाबुले पहल पनि गरेको सुजाताको भनाइ थियो ।