राजनीति

गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षको गुटगत भेला गर्ने र त्यस्ता भेलामा जाने सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए ।
‘बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ ।’ सांसद बस्नतेले भने, ‘पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरूलाई सचेत गराउने निर्णय भएको छ ।’

बिहीबारको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ । खनाल–नेपाल समूहले बुधबारदेखि आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै छ ।

संसदीय बोर्ड गठन

त्यस्तै बैठकले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले बैठकमा अनुपस्थित रहेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए।

बोर्डको प्रमुखमा दलका नेता ओली छन्। सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक सदस्य छन् ।

बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा र राजेन्द्र राई रहेका छन्।

बैठकले विधान संशोधन कार्यदल गठन गरेको छ । प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलमा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य बिमला पौडेल सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *