अर्थ

कोरोनापछिको पर्यटन: कसरी सम्भव छ, पुनर्जागरण र विकास ?

काठमाडौं । विश्वव्यापी कोरोनाको महामारीपछि मुख्य रुपमा थलिन पुगेको नेपालको पर्यटन उद्योगलाई पुनर्जीवन दिन आवश्यक छ ।

अझै सो मरामारी तत्काल अन्त्य हुने सम्भावना छैन तर यसबाट कसरी बच्ने र आफ्नो व्यवसायलाई कसरी निरन्तरता दिने भन्ने नै अहिलेको मुख्य विषय हो । नेपालको अर्थतन्त्रको एक मुख्य खम्बाको रुपमा रहेको पर्यटन उद्योग जीवन्त नगरेसम्म आर्थिक विकासका प्रयासहरु सार्थक हुन सक्दैनन् । यसका लागि राज्यले उचित वातावरण बनाउनु पर्दछ र सँगै सम्बन्धित व्यवसायीहरुले पनि उत्तिकै अग्रसरता देखाउन आवश्यक छ । विदेशी पर्यटकले अहिले नै नेपाल भ्रमणमा आउलान् भन्न सकिने अवस्था छैन ।

कोभिड–१९ महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकार तथा निजी क्षेत्रको साझेदारीतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा पर्यटन पुनरुत्थान अभियान शुभारम्भ गरेको छ । सरकारले बजेटमा घोषणा गरेको ‘देशदर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा शुरु गरिएको देशदर्शन अभियानको सफलतामा आगामी दिनको पर्यटकीय गतिविधि निर्धारण हुने देखिन्छ ।

मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलले आन्तरिक पर्यटनलाई चलायमान बनाउने पर्यटकीय गतिविधि सार्वजनिक गरेको छ । ‘पर्यटनका लागि हाम्रो सन्देश, घुमौँ, देश चिनौँ परिवेश’ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियानले कोभिड–१९ महामारीका कारण थलिएको पर्यटनलाई गतिशील बनाई आर्थिक गतिविधि बढाउन सकारात्मक ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

विश्वव्यापी रुपमै कोरोनाको सङ्क्रमणको विस्तार नियन्त्रणमा आएमा वा यसको खोप जनसाधारणको पहुँचमा आएपछि पनि केही समयपछि मात्रै पूर्ववत् रुपमा विदेशी पर्यटकको चहलपहल हुन सक्दछ । कोरोनाको उद्गम मानिएको चीन र यस रोगको बढी सङ्क्रमण रहेको भारतको बीचमा अवस्थित नेपालमा विदेशी पर्यटकको आगमन छिटै हुन सक्ने देखिंदैन । यतिबेला पर्यटन क्षेत्रलाई गतिशील बनाउने भनेको आन्तरिक पर्यटकबाट नै हो । विदेशी पर्यटकलाई लक्षित गरी विभिन्न पूर्वाधारदेखि ठूला होटललगायतका संरचनाहरु निर्माण भएका छन् । तिनको लगानी खेर जान नदिन पनि आंशिक रुपमा भएपनि आन्तरिक पर्यटनलाई नै चलायमान गराउन आवश्यक छ । यसका लागि राज्यले सम्बन्धित व्यवसायीहरुलाई राहत सुविधा दिनुको साथै आन्तरिक पर्यटनको वातावरण निर्माण गर्न विदाका प्याकेजहरु प्रदान गर्न सकिन्छ ।

सातामा दुई दिन सार्वजनिक बिदाको प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णयलाई धेरैले स्वागतयोग्य मानेका छन् ।

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोईरालाको संयोजकत्वमा पर्यटन विभागमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ । समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गरिने भएको छ । नेपाल पर्यटन बोर्डले निजी क्षेत्र समेतको सहयोगमा अहिले आन्तरिक पर्यटन प्रवर्द्धनको योजना बनाइरहेको छ । यसमा सातामा दुई दिने सार्वजनिक बिदाको प्रस्ताव गरिएको छ । एक दिनको बिदाले घुमघाममा समय नपुग्ने र अन्तर्राष्ट्रिय प्रचलन समेत साताको दुई दिन सार्वजनिक बिदा दिने भएको भन्दै पर्यटन मन्त्रालय यसमा जुटेको छ । नेपालीका चाडपर्वहरु पनि आउँदै गरेका र हिउँदको मौसम पनि भएकाले नेपालीहरु एक ठाउँबाट अर्को ठाउँमा जाने, रमाउने गर्दछन् ।

टुर प्याकेजका घोषणा

पहिले हवाई यातायातमा मात्रै सीमित रहेका एयरलाइन्स तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवं होटलहरुले अहिले आन्तरिक पर्यटन बजार चलायमान बनाउन धमाधम विभिन्न टुर प्याकेजहरुको घोषणा गरेका छन् । सगरमाथा आधार शिविरदेखि कर्णालीको रारासम्मका टुर प्याकेजले नेपालीहरुलाई कोरोनासँग डराएर नभई भिड्दै घुमफिरमा जान प्रेरित गरेको छ । यसरी एयरलाइन्स मात्रै होइनन्, होटल, रिसोर्ट र पर्यटन क्षेत्रमा आबद्ध व्यावसायिक संघ–संगठन पनि नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न कार्यक्रम अध्ययन गरिरहेका छन् । विदेशी पर्यटक आगमन ठप्प भएका बेला आन्तरिक पर्यटन बजारलाई सञ्चालन गरेपछि मात्रै विदेशी आउने भएकाले यस्ता प्याकेजहरुले ठूलो राहत दिने विश्वास गरिएको छ ।

शुरुमा बुद्ध एयरबाट सुरु भएको टुर प्याकेज घोषणा गर्ने क्रम यती, समिट एयरले पनि टुर प्याकेज घोषणा गरेका छन् । पर्यटन क्षेत्रमा गोल्डेन ट्र्यांगल भनिने काठमाडौं, पोखरा र चितवनको पर्यटन क्षेत्रलाई चलायमान बनाउन बुद्धको भगिनी संस्था बुद्ध होलिडेजले दुई दिनको चितवन घुमफिर र उडानसमेतलाई जोड्दै १३ हजार ९९९ रुपैयाँको प्रतिव्यक्ति टुर प्याकेज ल्याएको छ । बुद्ध एयरले न्यु नर्मल भएसँगै पोखराका लागि छ हजार रुपैयाँमा दुईदिने बसाइ र सित्तैमा ओहोरदोहोरको प्याकेज घोषणा गरेको छ ।

यसैगरी यती एयरलाइन्सले आफ्नो २२ औं वर्षगाँठको अवसरमा देशभरका १६ वटा गन्तव्यका लागि सात हजारदेखि २५ हजार रुपैयाँसम्मका टुर प्याकेज ल्याएको छ । यसमा पाँच दिनको सगरमाथा पदयात्रा, तीन दिनको रारा भम्रण, तीन दिनको चितवन जंगल सफारी, छ दिनको घान्द्रुक पदयात्रा आदि समेटिएका छन् । यी प्याकेजमा काठमाडौं वा अन्य गन्तव्यबाट आउने, जाने हवाई उडान, पदयात्रा, गाइड, होटलमा बस्ने खाने, यातायात लगायत यात्रामा लाग्ने सबै खर्च समेटिएको छ ।

काठमाडौंसहित १० वटा दुर्गम हिमाली भेगमा उडान गर्दै आएको समिट एयरले मुक्तिनाथदेखि सगरमाथा आधार शिविरसम्मको १३ दिने टुर प्याकेज सार्वजनिक गरेको छ । यसले १३ हजारदेखि २० हजार रुपैयाँमा परिवार तथा साथीसंगी लक्षित कार्यक्रममा खुम्बु क्षेत्रको गोक्यो तालसम्म पुग्ने र गोक्यो–री पिक आरोहण गराउने सम्मका प्याकेज घोषणा गरेको छ ।

ठूला तारे होटलहरु बन्द भइरहेका बेला चन्द्रागिरि हिल्स रिसोर्टले पनि फेस्टिभ प्याकेज ल्याएको छ । १२ हजार पर्ने एक रातको जोडी बसाइ, केबलकारबाट हुने ओहोरदोहोर, डिनर र ब्रेकफास्टलाई ६ हजार ५ सय रुपैयाँको प्याकेजमा उसले बिक्री गरिरहेको छ । यस्तै बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टले पनि सहरवासीका लागि ‘फ्राइडे बार–बी–क्यू’ प्याकेज ल्याएको छ । स्वास्थ्य सुरक्षाको ख्याल राख्दै उसले १० हजार रुपैयाँमा शुक्रबार एक जोडीका लागि यो प्याकेज ल्याएको हो । होटल संघ नेपाल (हान) ले पर्यटन बोर्डसँग सहकार्य गर्दै देश दर्शनको कार्यक्रम ल्याउन लागेको छ । होटल, बस, वायुसेवा, ट्राभल, टुरलगायतका व्यवसायीले संस्थागत रूपमा प्याकेज ल्याउने तयारी गरिरहेको हानले जनाएको छ ।

लामो समयदेखि चर्चा भइरहेको रात्रिकालीन सम्पदा यात्रा अब उपत्यकाका तीनै जिल्लामा सुरु गर्न लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । कोरोनाले ल्याएको असामान्य परिस्थितिपछि आउने सामान्य अवस्था (न्यु–नर्मल) मा राजधानीका तीनै सहरमा कम्तीमा १२ बजेसम्म घुमघाम गर्न पाइने गरी रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गर्न बोर्डले सबै तयारी पूरा गरेको बताएको छ । त्यसैगरी बोर्डले राजधानीभित्रका उत्कृष्ट १० गन्तव्यको सूची पनि बनाइरहेको छ ।

कोभिड–१९ का धराशायी अवस्थामा पुगेको डेढ खर्ब बराबको नेपाली पर्यटन बजारलाई पुरानै लयमा ल्याउन आन्तरिक वायुसेवा कम्पनीदेखि सरकारसम्मले घोषणा गर्ने यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरुले व्यवसायीलाई मात्र नभई मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउन बल पुग्नेछ । यस्ता कार्यक्रमले छ महिना लामो लकडाउनले घरभित्रै बसेका जनतालाई बाहिरिने अवसर मिल्नेछ । यसमा प्रदेश र स्थानीय सरकारहरुले पनि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम ल्याउन सक्नेछन् । यसरी घुमफिरका प्याकेजहरु ल्याइरहँदा कोरोनाको सङ्क्रमण फैलिन नपाओस् भनी सरकार र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्वास्थ्यमा सावधानीलाई भने सबैले पालना गर्नैपर्छ ।

अबको सहज परिस्थितिमा निजी क्षेत्र र सरकार दुवै मिलेर आन्तरिक पर्यटन बजारलाई चलायमान बनाउनुको विकल्प छैन । यतिबेला मुलुकको समृद्धिको कुरा भनेकै नयाँ आर्थिक एजेण्डाहरु स्थापित गर्नुभन्दा पनि हिजो हाम्रा आर्थिक विकासका आधारहरुलाई मजबुद तुल्याउनु नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *