अर्थ

राष्ट्रिय सडक सञ्जालमा जोडिन हुम्लालाई अझै कम्तिमा २ वर्ष लाग्ने

काठमाडाैं । सडक सञ्जालसँग जोडिन बाँकी रहेको देशको एकमात्रै जिल्ला हुम्लाको सिमकोट चालु आर्थिक वर्षमा पनि सडक सञ्जालमा नजोडिने भएको छ । सडक विभागका अनुसार अहिलेको गतिमा काम हुँदा सिमकोटमा सडक पुग्न अझ दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको हो ।

कर्णाली करिडोरअन्तर्गत सो राजमार्गमा सडक विभाग र नेपाली सेना दुवैले निर्माणको काम गरिरहेका छन् । विभागले निर्माण गरिरहेको खण्डमा १६ किमि साधारण बाटो खन्न बाँकी रहेको विभागका उपमहानिर्देशक शिव नेपालले बताए । सो खण्डमा विभागले निर्माण गर्दा ढिलाइ भइरहेकाले सेनालाई नै निर्माण गर्न भनेको थियो । त्यसको टुङ्गो नलागेकाले अहिले विभागले नै सुस्त गतिमा काम गरिरहेको छ । विभागले निर्माण गर्दा पनि विष्फोटनको काम सेनाले गर्नुपर्ने भएकाले सेनालाई नै जिम्मेवारी दिन फाइल अघि बढाइएको उनले बताए । ‘रक्षा मन्त्रालयमा फाइल पठाएको भएपनि त्यसको टुङ्गो लागेको छैन,’ उनले भने ।

देशभरका ७६ वटै जिल्ला सदरमुकामा सडक पुगेपनि सिमकोट अझैसम्म पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । जतिसक्दो छिटो ट्र्याक खोलेर जुम्लेलीलाई सडक सेवा दिने लक्ष्य लिइए पनि अझै कम्तिमा दुई वर्ष पहिले काम सकिने अवस्था नरहेको त्यहाँ कार्यरत विभागका इन्जिनियरहरु बताउँछन् । पहाडी क्षेत्र त्यसमा पनि अत्यधिक चट्टान भएकाले त्यसलाई काट्दै लैजानुपर्ने अवस्था रहेको उपमहानिर्देशक नेपालले बताए । विष्फोटक पदार्थ सजिलोसँग उपलब्ध नहुनु नै सिमकोटसम्म सडक पुर्‌याउन नसकिनुको मुख्य कारण हो । नेपाली निर्माण व्यवसायीको क्षमता र कठिन भूगोलका कारण पनि ढिलाइ भइरहेको छ । उनले भने, ‘कणार्लीको किनारैकिनार चट्टानी क्षेत्र हुँदै सडक अघि बढाउन गाह्रो काम छ ।’

नेपालमा विष्फोट गराई चट्टान फोरेर सडक निर्माण गर्नुपर्ने भए आवश्यक पर्ने विष्फोटक पदार्थ सेनाले उपलब्ध गराउँछ। यो सडक निर्माणमा चाहिने विष्फोटक पदार्थ उपलब्ध गराउन भने सेनाको टुकडी निर्माणस्थलबाट टाढा-टाढा रहेकोले पनि समस्या भएको आयोजना बताउँछ । ‘त्यसैले निर्माणस्थलमा सेनाको टुकडी नराख्दासम्म निर्माणले गति लिँदैन,’ उनले भने ।

राजमार्ग निर्माणसँगै सडक विस्तारको काम पनि अघि बढाइएको छ । हिल्सादेखि सिमकोटसम्म ३५ किमि सडक चौडा गर्ने काम भइरहेको छ । अहिले गर्न सकिने ठाउँमा विस्तार गर्ने र अप्ठेरो ठाउँमा पहिले ट्र्याक खोलिसकेर मात्रै सडक विस्तार गर्ने योजना बनाइएको उपमहानिर्देशक नेपालले बताए । हिल्सादेखि सिमकोटसम्म ९० किमि सडक ट्र्याक खुलाइएको उनले बताए । सोही खण्डमा ४०० मिटर भने डिजाइनअनुसार खन्न नसकिएकाले चौडाइ कम छ र ग्रेड पनि नमिलेको उनले जनाए ।

सो सडकमा बजेटको भने समस्या नभएको विभागले जनाएको छ । गत आवमा छुट्याइएको बजेट नै पूरा खर्च भएको थिएन । चालु आवमा पनि पूरा बजेट खर्च हुने सम्भावना नरहेको उपमहानिर्देशक नेपाल बताउँछन् । उनका सडकमा जग्गाको समस्या आउने गरेपनि निर्माण नै रोकिने अवस्था छैन ।

सेनाले निर्माण गरेको स्थानमा ट्र्याक खोल्ने काम सकिनै लाग्दा विभागले निर्माण गरेको स्थानमा भने कहिलेसम्म खुलिसक्छ भन्नेमा विभाग प्रष्ट छैन । विभागले निर्माण गरेको ठाउँमा पनि विष्फोटक पदार्थ सेनासँग किनेर र उनीहरुकै सुरक्षामा निर्माणस्थलमा पुर्‌याउनुपर्छ । सेनासँगको सहकार्यमा काम गर्नुपर्ने भए पनि यो काम सेनाको प्राथमिकतामा नपरेकोमा उनको गुनासाे छ । अहिले निर्माणस्थलमा छुट्टै टुकडी व्यवस्था नभएर अरु काममा खटिएकालाई समय-समयमा निर्माणस्थल लैजाने गरिएको छ । सेनालाई निर्माणस्थल लगेर केही दिन काम गरेर फर्कने र पुनः विभागले सो स्थानमा सफा गरेर अर्काे पटक बोलाउने गरेको उनले बताए । ‘टाढाबाट धाएर जाँदा महिनामा दुई-तीन पटकभन्दा बढी विष्फोट गर्न सकिएको छैन,’ उनले भने ।

सेनाले निर्माण गरिरहेको खुलालुदेखि सलिसल्ला १२३ किमि सडकको निर्माण अन्तिम चरणमा पुगेको छ । सो सडक सेनाले चालु आवमा नै हस्तान्तरण गर्ने योजना बनाएको छ । सलिसल्लादेखि सिमकोटसम्म ५० किमि सडक निर्माण विभागले गरिरहेको छ । विभागले सलिसल्लाबाट सिमकोट र सिमकोटबाट सलिसल्लातर्फ गरी दुवैतर्फबाट काम गरिरहेको छ । विभागले ३४ किमि ट्र्याक खोलिसकेर बीचमा १६ किमि सडक खन्न बाँकी छ । ट्र्याक खोल्न बाँकी ठाउँ पूरै चट्टानी भाग नभएर कतै चट्टान र कतै सजलो जमिन पनि छ तर बीचको सजिलो भागमा पुग्नु पहिले चट्टान फोरेर अघि बढ्नुपर्ने भएकाले धेरै क्षेत्र ट्र्याक खोल्न बाँकी रहेको उनको भनाइ छ। ‘बीच-बीचको सजिलो ठाउँमा पनि काम हुन सकिरहेको छैन,’ उनले भने ।

राजमार्गमा ८ मिटर चौडाइ कायम गर्ने गरी काम भइरहेको छ । पहिले ट्र्याक खोलिसकेर चौडाइ बढाउन सकिने भएकाले अहिले धेरै ठाउँमा ट्र्याक खोल्ने काम पहिले भइरहेको विभागले जनाएको छ । राजमार्गमा कतिपय पुल निर्माणाधीन छन् भने कतिपय डिजाइनको क्रममा छन् । सडक ट्र्याक खुलेपछि पुलका लागि आवश्यक सामग्री पुर्‌याउन सकिने भएपनि अहिले पुल निर्माण गर्ने स्थानसम्म निर्माण सामग्री पुर्‌याउन गाह्रो भइरहेको नेपालले बताए । आवश्यक उपकरण बोकेर लैजान नसकिने र हेलिकप्टरबाट लैजाँदा खर्चिलो हुने भएकाले निर्माण अघि बढ्न सकिरहेको छैन । सडक निर्माणमा आवश्यक इन्धन पहिले चीनबाटै ल्याउने गरिएको थियो । कोभिड–१९ का कारण सीमा बन्द हुँदा अहिले इन्धन उताबाट ल्याउनसमेत समस्या भएको विभागले जनाएको छ । (सञ्चिता घिमिरे/रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *