राजनीति

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उपराष्ट्रपति नन्दकिशोर पुन तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गरे । 

राष्ट्रपति भण्डारी आफ्ना बङ्गलादेशी समकक्षी मो.अब्दुल हमिदको औपचारिक निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा बङ्गलादेश गएकी हुन् ।  

गणतन्त्र नेपालको राष्ट्रपति स्तरको पहिलो भ्रमण भएकाले बङ्गलादेशमा भव्य स्वागतको तयारी भएको बङ्गलादेशस्थित नेपालका राजदूत डा.वंशीधर मिश्रले जानकारी दिए । 

राष्ट्रपति भण्डारीलाई उनका समकक्षी हमिदले विमानस्थलमा स्वागत गर्नेछन् । विमानस्थलबाट राष्ट्रपति भण्डारी बङ्गलादेशको शहीद स्मृति पार्क जानेछिन् । 

त्यसपश्चात राष्ट्रपति भण्डारी दिनभरजसो नै बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी समारोह तथा स्वर्ण जयन्ती समारोहमा व्यस्त रहेछिन् ।

सो क्रममा उनले नेपाल-बङ्गलादेश सम्बन्ध तथा बङ्गबन्धुको जन्मशताब्दीका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । 

समारोहमा नेपाली सांस्कृतिक समूहले बङ्गबन्धुको जन्मशताब्दी समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । उनले बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन भ्रमण गर्नेछिन् । 

सोही क्रममा समकक्षी हमिदसँग छुट्टै द्विपक्षीय भेटवार्तासँगै रात्रि भोजमा सरिक हुनेछिन् ।

मङ्गलबार राष्ट्रपति भण्डारीले बङ्गलादेशस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहेएका नेपालीसँग भेट गर्ने कार्यक्रम छ । 

सो अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत डा.मिश्रले आयोजना गर्ने दिवा भोजमा सरिक हुनेछिन् ।

दुई देशबीचको आयात-निर्यात र व्यापार असन्तुलन कम गर्न नेपालको स्थानीय उत्पादनलाई बङ्गलादेशको आयातमा थप्नका लागि बढावा दिने अपेक्षा गरिएको छ ।

त्यस्तै कृषि उपकरण, बीउ बिजन तथा मल नेपालमा सहज उपलब्ध गराउन बङ्गलादेशले भूमिका खेल्ने विश्वास गरिएको छ । र, राष्ट्रपति भण्डारी चैत १० गते नेपाल फर्कने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *