राजनीति

अब जनताले ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ: भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्ने बेला आएको बताएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूह सम्बद्ध विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूहरूलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका हुन् ।

उनले स्पष्टीकरण आफूहरूले नभई पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताए । प्रतिनिधिसभा विघटन गर्ने, एमसीसी जस्ता वितण्डा अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधिसभामा पारित हुन नदिनेजस्ता काम गर्ने अध्यक्ष ओलीलाई नेपाली जनताले स्पष्टीकरण सोध्नुपर्ने बताएका हुन् । त्यसको जवाफ ओलीले दिनुपर्ने उनले बताए ।

‘नेपाली जनताले केपी शर्मा ओलीलाई तपाईले प्रतिनिधिसभा विघटन किन गर्नुभयो ?, आफ्नो विधान मिचेर मनपरी किन गर्नुभयो ?, तपाईंले पहिल्यै असमान सन्धि समझौताहरू र एमसीसीजस्ता अनेकौँ वितण्डाहरू अगाडि किन सार्नुभयो ? तपाईंले नागरिकता विधेयकलाई प्रतिनिधिसभाबाट किन पारित गर्न दिनुभएन ? तपाईंले नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरितका काम किन गर्नुभयो? जनताको जनादेशलाई तपाईंले किन विखण्डित गर्नुभयो भनेर तपाईं हामी नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ, सोध्ने छन । केपी शर्मा ओलीले जवाफ दिनुपर्छ’ उनले भने ।

उपाध्यक्ष रावलले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानलाई कुल्चिएर संशोधन गर्ने अधिकार अध्यक्ष ओलीलाई कहाँबाट आयो भन्दै प्रश्नसमेत गरे । अहिलेसम्म पार्टीमा कुनै योगदान नभएका, पार्टी सदस्य नै नभएका व्यक्तिलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको बताए ।

‘पार्टी विधान विपरित नवौं राष्ट्रिय महाधिवेसनको फैसला विपरित निर्णय गर्ने व्यक्तिले हामीलाई तपाईंहरुले अनुशासन मान्नुभएन तपाईंहरु केन्द्रीय कमिटीमा आउनुभएन अनि तपाईलाई स्पष्टिकरण सोध्नु भन्दाखेरी अलिकति लाज मान्नुपर्ने हो । हामी केपी शर्मा ओलीको फागुन २८ गते बसेको अवैध केन्द्रीय कमिटीको कुनै पनि निर्णय हामी मान्दैनौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *