राजनीति

थरुहट आन्दोलनको माग सम्बोधन गर्न गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौं । थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिको विभिन्न १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको जानकारी दिए ।

उनका अनुसार वार्ता टोलीका अन्य सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहेका छन् ।

मन्त्री गुरुङले सबै प्रकारका हिंसात्मक गतिविधि अन्त्य गरेर शान्तिपूर्ण मुलुक तथा ‘समृद्धि नेपाल र सुखी नेपाली’ बनाउने अभियानलाई सरकारले अगाडि बढाएको उल्लेख गर्दै उक्त वार्ता टोलीले आजैदेखि काम सुरु गर्ने जानकारी दिए ।

उनले राजनीतिक अवरोध भए पनि सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको बताउँदै राष्ट्रिय गौरवका आयोजनालाई सम्पन्न गर्ने अभिप्रायका साथ सरकारले काम गरिरहेको उल्लेख गरे ।

थरुहट आन्दोलनले रेशम चौधरीको रिहाइलगायत विभिन्न १९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ । केही दिनअघि गृहमन्त्री थापा माइतीघर मण्डलामा पुगेर सरकारले वार्तामार्फत नै थरुहट आन्दोलनकारीको माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *